समाचार

उपचारकै क्रममा बिरामीको मृत्यु, मनमोहन अस्पतालमा तनाव

१९ फागुन, काठमाडौं । मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एक बिरामीको मृत्यु भएपछि उनका आफन्तहरूले अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनका कारण केही समय अस्पताल क्षेत्र तनावग्रस्त बनेको थियो। आफन्तहरूले उपचारमा लापरबाही भएको आरोप लगाउँदै घाइतेको समयमै उचित उपचार नभएको दाबी गरेका छन्। उनीहरू दोषीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै अस्पताल प्रशासनविरुद्ध नाराबाजीसमेत गरेका थिए।

मृतक धादिङमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका व्यक्ति रहेको बताइएको छ। दुर्घटनापछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो।

अस्पताल प्रशासनले भने घटनाबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी छ।