समाचार

मतदानपछि दहालकाे सन्देश: नयाँ–पुरानो होइन, सही–गलतको लडाइँ हो अहिलेको राजनीति

चितवन, २१ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बहसलाई नयाँ र पुराना भन्ने आधारमा विभाजन गर्नु देश र लोकतन्त्रका लागि लाभदायक नभएको बताएका छन्।

चितवन–३ अन्तर्गत भरतपुर–१४ स्थित प्रहरी विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले राजनीतिक मूल्यांकन सही र गलतका आधारमा हुनुपर्ने धारणा राखे।

उनले भने, “नयाँ र पुराना भन्ने भाष्य देशको हितमा छैन। बहस सही र गलतको हुनुपर्छ।”

प्रचण्डले दलहरूको योजना, कार्यक्रम र दृष्टिकोणका आधारमा मूल्यांकन गर्नुपर्नेमा जोड दिए। उनका अनुसार कुनै दल नयाँ वा पुरानो भन्ने कुरा भन्दा पनि राष्ट्र, जनता, लोकतन्त्र र प्रगतिका पक्षमा कसको स्पष्ट कार्यक्रम छ भन्ने कुरा महत्वपूर्ण हो।

उनले सबै मतदातालाई विवेक प्रयोग गरेर सही पक्षमा उभिन अपिल गर्दै भने, “यो प्रश्न नयाँ र पुरानाको होइन, सही र गलतको हो। कसको योजना के छ, कार्यक्रम के छ भन्ने हेरेर निर्णय गर्नुपर्छ।”

प्रचण्डले दोहोर्‍याउँदै भने कि कृत्रिम रूपमा बनाइएको नयाँ–पुराना भाष्यले देश र लोकतन्त्रलाई फाइदा नगर्ने बताउँदै नागरिकलाई सचेत र जिम्मेवार निर्णय गर्न आग्रह गरे।