गण्डकी प्रदेश

गोरखामा धेरै मतदान केन्द्रबाट खसेको मतको विवरण अझै पुगेन निर्वाचन कार्यालयमा

२१ फागुन, गोरखा । जिल्लामा हालसम्म खसेको मतको एकिन विवरण संकलन हुन सकेको छैन। जिल्ला निर्वाचन कार्यालयका अनुसार अधिकांश मतदान अधिकृतहरूले आफ्नो मतदान केन्द्रको विवरण समयमै उपलब्ध नगराएका कारण मत प्रतिशत निर्धारण गर्न कठिनाइ भएको हो।

कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीका अनुसार प्रत्येक तीन घण्टामा मतदान केन्द्रबाट महिला र पुरुषको आधारमा खसेको मतको विवरण गुगल सिटमार्फत अद्यावधिक गर्नुपर्ने व्यवस्था भए पनि धेरै केन्द्रबाट अपडेट आएको छैन।

उनका अनुसार करिब १६० मतदान केन्द्रले हालसम्म विवरण पठाएका छैनन्। गोरखामा कुल २२५ मतदान स्थल र ३३१ मतदान केन्द्र रहेका छन्।

हालसम्म प्राप्त सीमित विवरण अनुसार मध्याह्न १२ बजेसम्म गोरखा–१ मा १६ हजार र गोरखा–२ मा ११ हजार मत खसेको छ। गोरखा–१ मा कुल मतदाता संख्या १ लाख २० हजार ५२५ र गोरखा–२ मा १ लाख ८ हजार ५३३ रहेका छन्।

सुवेदीका अनुसार नेटवर्क समस्या, मतदान अधिकृतको व्यस्तता वा प्रविधि प्रयोगमा कठिनाइका कारण पनि विवरण अपलोडमा समस्या भएको हुन सक्ने अनुमान गरिएको छ।