काठमाडौं, २२ फागुन । देशका विभिन्न निर्वाचन क्षेत्रमा जारी मतगणनामा केही प्रमुख नेताहरूले प्रारम्भिक अग्रता लिएका छन्।
चितवन निर्वाचन क्षेत्र नम्बर २ मा रवि लामिछाने अग्रस्थानमा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले हालसम्म ३,२६५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी अस्मिन घिमिरे (नेकपा एमाले) ले १,५१९ मत पाएका छन्।
झापा निर्वाचन क्षेत्र नम्बर ५ मा बालेन्द्र शाह (बालेन) ले केपी शर्मा ओलीलाई पछाडि पार्दै अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार शाहले १,४७८ मत प्राप्त गरेका छन् भने ओलीले ३८४ मत पाएका छन्।
रुकुमपूर्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रारम्भिक मतगणनामा अगाडि छन्। करिब २,६३५ मत गणना हुँदा उनले १,४१५ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी लीलामणि गौतम (नेकपा एमाले) ले ४३१ मत ल्याएका छन्।
यसैबीच, सार्लाही क्षेत्र नम्बर ४ मा गगन थापा उम्मेदवार रहेको क्षेत्रमा अझै मतगणना सुरु भएको छैन। त्यस्तै दाङ क्षेत्र नम्बर २ मा शंकर पोखरेल उम्मेदवार रहे पनि मतगणना सुरु हुन बाँकी छ।
काठमाडौं क्षेत्र नम्बर ९ मा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल (डिपी) अग्रस्थानमा छन्। तनहुँ क्षेत्र नम्बर १ मा पनि रास्वपाका उपसभापति स्वर्णिम वाग्ले ले १,३५२ मतसहित अग्रता लिएका छन्, जहाँ उनका प्रतिस्पर्धी गोविन्द भट्टराई (नेपाली कांग्रेस) ले ५९० मत प्राप्त गरेका छन्।
काठमाडौं क्षेत्र नम्बर ५ मा भने रास्वपाका सस्मित पोखरेल ३,७०० मतसहित अग्रस्थानमा छन्। प्रदीप पौडेल (नेपाली कांग्रेस) ले १,०७८ मत पाएका छन् भने एमालेका ईश्वर पोखरेल ६९९ मतसहित तेस्रो स्थानमा छन्।
यसैगरी, झापा क्षेत्र नम्बर ३ मा राजेन्द्र लिङ्देन (राष्ट्रिय प्रजातन्त्र पार्टी) उम्मेदवार रहे पनि उक्त क्षेत्रमा मतगणना अझै सुरु भएको छैन।
प्रारम्भिक मतपरिणाम आउने क्रम जारी रहेकाले अन्तिम नतिजा आउन अझै समय लाग्ने जनाइएको छ।





