२ वैशाख, काठमाडौं । सरकारले २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे तयार गरिएको प्रतिवेदन कार्यान्वयनका लागि सुरक्षा संयन्त्रको अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्की को संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई सदस्य रहेका छन्।
सरकारले उक्त समिति मार्फत जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयनको सन्दर्भमा विशेषगरी सुरक्षा संयन्त्रको भूमिका, सुधारका आवश्यकता तथा भावी रणनीतिबारे अध्ययन गरी सिफारिस पेश गर्ने जिम्मेवारी दिएको छ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले निर्णयको जानकारी दिँदै प्रतिवेदन प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक संरचनात्मक र नीतिगत सुधारका लागि समिति गठन गरिएको बताए।
समितिले निकट भविष्यमा अध्ययन कार्य सुरु गरी सरकारलाई सुझाव पेश गर्ने अपेक्षा गरिएको छ।





