समाचार

फैसलामा प्रश्न, तर मान्ने निष्कर्ष-अब कांग्रेसको बाटो कता?

५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवादबारे धारणा बनाउन गोल्फुटारस्थित निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा बसेको पूर्वपदाधिकारीहरूको बैठक सम्पन्न भएको छ। बैठकले सर्वोच्च अदालतको फैसलामा असहमति रहे पनि त्यसलाई स्वीकार गर्ने निष्कर्ष निकालेको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता मीनबहादुर विश्वकर्माले पार्टी सधैं विधिको शासन र स्वतन्त्र न्यायपालिकाको सम्मान गर्ने परम्परामा रहेको उल्लेख गरे। उनले भने, “फैसलाका केही आधारहरू विवादास्पद र विरोधाभासपूर्ण देखिए पनि हाम्रो पक्षले अन्ततः निर्णय स्वीकार गर्नेबारे छलफल गरेको छ।”

उनका अनुसार, आजको भेट औपचारिक बैठक नभई अनौपचारिक छलफल मात्र थियो, जसमा मुख्य रूपमा पार्टी एकता कसरी कायम राख्ने भन्ने विषयमा परामर्श भएको थियो। आगामी दिनमा थप छलफल गर्दै सबै पक्षको सुझाव लिएर साझा निष्कर्षमा पुग्ने तयारी रहेको उनले बताए।

विश्वकर्माले सर्वोच्चको फैसलापछि पूर्णबहादुर खड्का अब ‘निवर्तमान कार्यवाहक सभापति’ भएको उल्लेख गर्दै अदालतको निर्णयसँगै वैधानिक विवाद टुंगिएको स्पष्ट पारे। “अब समानान्तर गतिविधि हुँदैन, कानुनी विषय समाप्त भयो,” उनले भने।

उनले पार्टी एकता अहिलेको मुख्य चुनौती भएको उल्लेख गर्दै सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखे। साथै, सभापति गगन थापाको नेतृत्वमा पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी रहेको विषय पनि छलफलमा उठेको जानकारी दिए।

यसैबीच, विमलेन्द्र निधिले अदालतको फैसला अस्वीकार नगरेको तर त्यसका केही पक्षमा असहमति राखेको स्पष्ट पारिएको छ।

कांग्रेसभित्रको वैधानिक विवाद टुंगिएसँगै अब पार्टी एकता र आन्तरिक व्यवस्थापन प्रमुख एजेन्डाका रूपमा अगाडि आउने संकेत देखिएको छ।