६ वैशाख, काठमाडौं । नेपाली कांग्रेस का बरिष्ठ नेता डा. शेखर कोइराला निकट समूहले पार्टीको आगामी रणनीतिबारे छलफल गरेको छ। सर्वोच्च अदालत ले गगन थापा लाई आधिकारिकता दिएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे बैठक केन्द्रित भएको हो।
बालुवाटारस्थित डा. शेखर कोइरालाको सचिवालयमा बसेको बैठकमा सहभागी नेताहरूले सर्वोच्च अदालतको आदेशलाई स्वीकार गर्दै पार्टीलाई थप सुदृढ बनाउने दिशामा अघि बढ्नुपर्ने धारणा राखेका छन्।
बैठकमा पूर्व महामन्त्री डा. शशांक कोइराला, निवर्तमान उपसभापति धनराज गुरुङ, नेता दिलेन्द्र बडु, बल बहादुर केसी, सरिता प्रसाईं, गोबिन्द पोख्रेल, जीवन परियार, राजीव कोइराला, मिनेन्द्र रिजाल, रुक्मिणी कोइराला, बद्री पाण्डे, दिपक गिरि, उर्मीला थमलिया, डा चन्द्रमणि यादब तथा किरण यादव लगायतको उपस्थिति रहेको थियो।
अधिकांश नेताहरूले पार्टीभित्रको एकता मजबुत पार्दै नयाँ परिस्थितिअनुसार अघि बढ्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले आन्तरिक विवादलाई थाती राख्दै संगठन सुदृढीकरणमा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याए।
तर, बैठक डा. शेखर कोइरालाको सचिवालयमै बसे पनि उनी स्वयं भने अनुपस्थित रहेका थिए।
यसैबीच, बैठकले आगामी दिनमा पार्टीभित्र समन्वय र रणनीतिक एकताका लागि थप छलफललाई निरन्तरता दिने निष्कर्ष निकालेको छ।
बैठकले निम्न दुईंबुंदे निस्कर्ससमेत निकालेको नेता जीवन परिवारले बताए ।
बुंदाहरु
१. हामी सबैलाई विदितै छ-बिशेष महाधिवेशनका बारेमा पार्टीमा विभिन्न दृष्टिकोण रहिआएको भएतापनि त्यसबेला हामीले मतैक्यता गराउने भरमग्दुर प्रयत्न गरिरह्यौ । अब बिशेष महाधिवेशन बारे सम्मानीत सर्वोच्च अदालतको फैसला आईसकेपछि नयाँ परिस्थिति उत्पन्न भएको छ । यस परिस्थितिमा अदालतको फैसला स्विकार गर्दै, पार्टीलाई थप एकताबद्ध बनाउने हामी सबैको कर्तव्य हो । पार्टीको स्थापना कालदेखि र प्रतिबन्धित अवस्थामा समेत स्वतन्त्र न्यायपालिकाप्रति विश्वास, निष्ठा र सम्मान रहँदै आएको व्यहोरा जगजाहेर नै छ ।
२. बर्तमान अबस्थामा नेपाली कांग्रेस भित्र बृहत्तर हित, एकता र सुदृढ संगठन निर्माण गर्नु हामी सबैको साझा जिम्मेवारी हो । तथापी पार्टी केन्द्रीय कार्यसमिति एवं सभापतिको अझ बढीनै जिम्मेवारी रहन्छ । यस कठिन परिस्थितिमा पार्टीका आगामी चुनौतीलाई सामना गर्न हामी सबै आ-आफ्नो ठाउँबाट जिम्मेवार र प्रतिबद्ध रहन समेत पार्टीका सम्पूर्ण साथीहरुलाई आग्रह गर्दछ ।





