८ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारका गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै विभिन्न मागसहित विज्ञप्ति जारी गरेको छ।
संघले “विरोध लोकतन्त्रको आत्मा हो, विद्यार्थी नेताहरूलाई निसर्त रिहा गर” भन्ने नारासहित जारी गरेको विज्ञप्तिमा गृहमन्त्रीमाथि गम्भीर आरोपहरू उल्लेख गरिएको छ। विज्ञप्तिअनुसार गृहमन्त्रीले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पक्राउ परेका एक व्यवसायीसँग व्यापारिक साझेदारी गरेको तथा २०८२/१२/२९ मा सार्वजनिक गरिएको सम्पत्ति विवरणमा जेन–जी आन्दोलनपछि खरिद गरिएको सेयर नखुलाएको दाबी गरिएको छ।
उक्त विषयमा सत्यतथ्य सार्वजनिक गर्न, सम्पत्तिको स्रोत स्पष्ट पार्न र निष्पक्ष अनुसन्धानका लागि तत्काल राजीनामा दिनुपर्ने माग गरिएको छ।
यसैबीच, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, महँगी र सुशासनको माग गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका नेविसंघका केन्द्रीय सदस्य भुवन भट्ट, सिटिइभिटी अध्यक्ष कुम्मराज देउवा तथा विद्यार्थी नेताहरू नवीन बिष्ट, आकाश देवकोटा, सुशील ऐडी र विशाल बिसीलाई पक्राउ गरिएको घटनाप्रति पनि संघले घोर आपत्ति जनाएको छ।
संघले शान्तिपूर्ण आन्दोलनमा सहभागी विद्यार्थी नेताहरूलाई बिना शर्त तत्काल रिहा गर्न सरकारसँग जोडदार माग गरेको छ। अन्यथा थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी समेत दिएको छ।
विज्ञप्तिमा नेविसंघका कार्यवाहक सभापति नविन पौडेलको हस्ताक्षर रहेको छ।






