समाचार

ग्राहक गोपनीयता आरोप भ्रामक: नबिल बैंकद्वारा कडा खण्डन

११ वैशाख, काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको गोपनीयता भंग भएको भन्दै सामाजिक सञ्जालमा फैलाइएका आरोपहरू भ्रामक र आधारहीन रहेको स्पष्ट पारेको छ।

बैंकले प्रेस विज्ञप्ति जारी गर्दै केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा बैंकले ग्राहकको कारोबार विवरण चुहावट गरेको भन्ने दाबी गलत रहेको जनाएको हो। बैंकका अनुसार यस्ता दुष्प्रचारले आम जनमानसमा बैंकिङ प्रणालीप्रतिको विश्वासमा असर पार्ने प्रयास गरेको देखिन्छ।

बैंकले मिति २०८३ वैशाख ९ गते कान्तिपुर दैनिकमा प्रकाशित एक समाचारलाई आधार बनाउँदै सामाजिक सञ्जालमा गलत व्याख्या गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सो समाचारमा अनुसन्धान निकायबाट प्राप्त बैंकिङ विवरण उल्लेख भएको बैंकको भनाइ छ।

नबिल बैंकले कुनै पनि ग्राहकको सूचना वा कारोबार विवरण ग्राहक स्वयं, अधिकृत प्रतिनिधि वा कानुनी प्रक्रिया अनुसार माग गर्ने नियामक तथा अनुसन्धान निकाय बाहेक अरू कसैलाई उपलब्ध नगराइएको स्पष्ट पारेको छ।

बैंकले सबै ग्राहक विवरण आफ्नो कोर बैंकिङ प्रणालीमा सुरक्षित रहेको र पहुँचसम्बन्धी सबै गतिविधि अभिलेखित हुने जनाएको छ। साथै, बैंकिङ गोपनीयता कायम राख्नु आधारभूत सिद्धान्त भएको उल्लेख गर्दै ग्राहक सुरक्षामा उच्च मापदण्ड अपनाइरहेको जनाएको छ।

बैंकले भ्रामक सूचना फैलाउने व्यक्ति वा निकायलाई तथ्यहीन प्रचार नगर्न चेतावनी दिँदै आवश्यक परे विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कानुनी कारबाही अघि बढाइने बताएको छ।