समाचार

अमृत झा अझै इरानमै, परराष्ट्र मन्त्रालय भन्छ– प्रक्रिया जारी छ

११ वैशाख, काठमाडौं । इरानको होर्मुज जलमार्ग क्षेत्रमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाइ प्रक्रिया अझै जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले झाको रिहाइ प्रक्रिया कानुनी तथा प्रशासनिक चरणमै रहेको स्पष्ट पारेका हुन् । उनका अनुसार उक्त घटनासँग सम्बन्धित पानीजहाज मुद्दामा इरानको स्थानीय अदालतले एक चरणको फैसला गरिसकेको छ, जसमा संलग्न ७ जनामध्ये ४ जना पहिले नै रिहा भइसकेका छन् भने बाँकीको रिहाइ प्रक्रिया अघि बढिरहेको छ ।

प्रवक्ता क्षेत्रीले इरानमा विद्यमान जटिल परिस्थिति तथा त्यहाँको न्यायिक प्रक्रियाअन्तर्गत केही कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहेकाले अन्तिम रिहाइ हुन केही समय लाग्ने बताएका छन् ।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले झा रिहा भइसकेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । तर झा अझै इरानमै रहेको विवरण सार्वजनिक भएपछि सरकारको भनाइप्रति प्रश्न उठेको थियो । यसबारे मन्त्रालयले रिहाइ प्रक्रिया नै अन्तिम चरणमा पुगेको कारण मन्त्रीको अभिव्यक्ति आएको भन्दै स्पष्टिकरण दिएको छ ।

सरकारले झाको रिहाइका लागि विभिन्न तहबाट निरन्तर कूटनीतिक पहल भइरहेको पनि जनाएको छ ।