समाचार

अतिक्रमित संरचना हटाउन गृहको सर्कुलर-सीडीओहरूलाई सुरक्षा प्रबन्ध मिलाउन निर्देशन

१७ वैशाख, काठमाडौं । सरकारले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। यसै क्रममा गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर जारी गर्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको छ।

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूलाई पठाएको पत्रमा सम्बन्धित निकायसँग समन्वय गरी जिल्लाभित्र रहेका अतिक्रमित जग्गाको पहिचान गर्न र ती स्थानहरूबाट अतिक्रमण हटाउने योजनाहरू तयार गरी मन्त्रालयमा पठाउन आग्रह गरिएको छ।

यसअघि चैत २० गते पनि गृहले यस विषयमा परिपत्र जारी गरेको थियो। पछिल्लो पटक बुधबार सचिवस्तरीय निर्णय गर्दै अतिक्रमण हटाउने कार्य प्रभावकारी बनाउन सुरक्षा व्यवस्था तथा अन्य आवश्यक सहजीकरण गर्न निर्देशन दिइएको हो।

सरकारले अतिक्रमण हटाउने अभियानलाई अझ तीव्र बनाउने तयारी गरेको छ। सोहीअनुसार शुक्रबारदेखि काठमाडौंका नदी किनारमा बनेका अतिक्रमित संरचना हटाउने कार्य सुरु गरिनेछ। त्यसअघि बिहीबार ती क्षेत्रहरूमा माइकिङ गरेर स्थानीयलाई जानकारी गराइएको छ।

सरकारको यो कदमलाई सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थापनको प्रयासका रूपमा हेरिएको छ।