समाचार

सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा

१८ वैशाख, काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार उक्त अध्यादेश दर्ता भइसकेको छ र हाल अध्ययनको क्रममा रहेको छ। उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश यसअघि नै प्राप्त भइसकेको भए पनि विस्तृत अध्ययन भइरहेको जानकारी दिए।

सरकारले हालसम्म विभिन्न ८ वटा अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको छ। तीमध्ये सहकारी तथा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइसकेका छन् भने अन्य ६ वटा अध्यादेश अध्ययनकै क्रममा रहेका छन्।

यसैबीच, संवैधानिक परिषद् लगायतका केही अध्यादेशका विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार कानुनविद्हरूसँग छलफल पनि गरेका थिए।

सरकारले कानुनी तथा प्रशासनिक सुधारका उद्देश्यसहित एकपछि अर्को अध्यादेश अघि बढाइरहेको छ।