२२ वैशाख, काठमाडौं । सरकारले निजामती क्षेत्रमा सक्रिय ट्रेड युनियनसँग सम्बन्धित सबै कार्यालयहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार साँझ मन्त्रालय, विभाग, आयोग, सचिवालय तथा अन्य सरकारी निकायहरूलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार ट्रेड युनियनका विभिन्न तहका समिति तथा तिनसँग सम्बन्धित कार्यालयहरू बन्द गरी त्यहाँ आबद्ध कर्मचारीहरूलाई आफ्नो तोकिएको दरबन्दीअनुसारको जिम्मेवारीमा फर्कन भनिएको छ।
जारी परिपत्रमा ट्रेड युनियन प्रयोजनका लागि प्रयोग भइरहेका कार्यालय भवन, कार्यकक्ष, सवारीसाधन लगायतका सरकारी सम्पत्ति सम्बन्धित निकायले फिर्ता लिनुपर्ने उल्लेख गरिएको छ। साथै, यस्ता समितिमा संलग्न कर्मचारीहरूलाई नियमित कामकाजमा खटाउने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।
मन्त्रालयले २०८३ वैशाख २२ गतेको सचिवस्तरीय निर्णयअनुसार उक्त कदम चालिएको जनाउँदै सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्मचारीहरूलाई तत्काल आफ्नो जिम्मेवारीमा फर्किन आग्रह गरेको छ।
सरकारको यस निर्णयले निजामती क्षेत्रमा ट्रेड युनियन गतिविधि र त्यसको व्यवस्थापनमा नयाँ बहस सुरु हुने देखिएको छ।






