पर्यटन/संस्कृति

भिजिट भिसामा विदेश जाँदै गर्दा ५४ लाख रुपैयाँसहित समातिए एयरलाइन्स कर्मचारी

१९ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा मलेसिया जान लागेका नेपाल एयरलाइन्सका एक कर्मचारी ठूलो परिमाणको विदेशी मुद्रासहित पक्राउ परेका छन्।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार सुनसरी गढी गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको बनस्थली बस्दै आएका ४७ वर्षीय कमलनारायण विश्वासलाई सोमबार राति पक्राउ गरिएको हो। उनी नेपाल एयरलाइन्समा ग्राउन्ड इक्युपमेन्ट अपरेटरका रूपमा विगत १६ वर्षदेखि कार्यरत थिए।

विश्वास बाटिक एयरको उडानमार्फत मलेसियाको क्वालालम्पुर जान लागेका बेला सुरक्षा जाँचका क्रममा उनको लगेजभित्र रहेको फलामको कराईमा लुकाएर राखिएको विभिन्न देशका मुद्राहरू फेला परेका थिए।

प्रहरीका अनुसार बरामद गरिएको विदेशी मुद्राको नेपाली रुपैयाँमा कुल मूल्य ५४ लाख ७१ हजार ६८९ रुपैयाँ ३२ पैसा बराबर रहेको छ। बरामद मुद्रामा नेपाली, अमेरिकी, ओमानी, पाकिस्तानी, मलेसियन, श्रीलंकन, जापानीलगायत विभिन्न देशका नोट तथा मुद्रा समावेश छन्।

प्रारम्भिक अनुसन्धानबाट विश्वासले यसअघि २६ पटक विदेश यात्रा गरिसकेको खुलेको प्रहरीले जनाएको छ। बरामद रकमको स्रोत तथा विदेश लैजानुको उद्देश्यबारे थप अनुसन्धान भइरहेको छ।