समाचार

मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह

२२ जेठ, काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक कार्यान्वय गर्नुपर्नेमा जोड दिएको छ ।

आयोगले आज जारी गरेको विज्ञप्तिमा वातावरण प्रदूषणको जोखिमलाई गम्भीर रूपमा लिँदै सचेत रहन, वातावरण संरक्षणमा सक्रिय सहभागिता जनाउन, प्रदूषण न्यूनीकरण गर्नुपर्नेमा जोड दिएको हो । जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “जैविक विविधताको संरक्षण गर्न तथा वर्तमान र भावी पुस्ताका लागि सुरक्षित एवं दिगो वातावरण निर्माणमा सहयोग गर्न आयोग सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछ ।”

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले स्वच्छ वातावरणमा बाच्न पाउने मौकिल हकको संरक्षण, प्रवर्द्धनका लागि प्रभावकारी कदम चाल्न आग्रह गरिएको बताए।

आयोगले भक्तपुरको मध्यपुर ठिमीमा जथाभावी फोहर फालेका कारण वातावरणमा नकारात्मक असर परेको र डडेल्धुराको अमरगढी नगरपालिकामा मानव वस्तीका बीचमा स्थानीयहरुको विरोधका बाबजुद जबरजस्ती डम्पिङ साइट बनाउन प्रयास गरेको भनी आयोगमा उजुरीसमेत परी कारबाहीको प्रक्रियामा रहेको जनाएको छ ।

आयोगले पछिल्ला वर्षहरूमा वायु प्रदूषण, वन विनाश, जलवायु परिवर्तन, फोहरमैला व्यवस्थापनको कमजोरी तथा प्राकृतिक स्रोतहरूको असन्तुलित दोहनका कारण वातावरणीय अवस्था जटिल बन्दै गएको तथा यसले जनस्वास्थ्य, जीविकोपार्जन तथा जीवनस्तरमा पारेको नकारात्मक प्रभावप्रति आयोग गम्भीर चिन्ता व्यक्त गरेको छ ।