समाचार

पार्टीमा ‘योगदानको हिसाब’ खोज्ने र पदका लागि मरिहत्ते गर्ने प्रवृत्ति घातक: रवि लामिछाने

२३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई उन्नत लोकतान्त्रिक शक्ति बनाउने लक्ष्य पूरा गर्न विचारसँगै शैली, व्यवहार र राजनीतिक संस्कारमा पनि परिवर्तन आवश्यक रहेको बताएका छन् ।

आज सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै लामिछानेले पुरानै सोच, शैली र प्रवृत्ति बोकेर नयाँ र परिस्कृत जनमैत्री राजनीतिक शक्ति बन्न नसकिने बताएका हुन् ।

उनले स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताए ।

स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’को हिसाब-किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन,उनले लेखेका छन्, चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्याउनुपर्छ ।

सभापति लामिछानेले पार्टी जिम्मेवारीलाई भविष्यमा संसदीय अवसर प्राप्त गर्ने माध्यमका रूपमा हेर्दै नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति पनि देखिएको बताए । उनले यस्ता प्रवृत्तिलाई अधिवेशनको लोकतान्त्रिक प्रक्रियामार्फत न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार रास्वपा आजको अवस्थामा पुग्नु केही व्यक्तिको प्रयासले मात्र सम्भव भएको होइन । आज हामी जहाँ छौँ, त्यो केवल केही व्यक्तिको योगदानले होइन, सबैभन्दा माथि मतदाताको विवेक, त्यसपछि पार्टीका सम्पूर्ण सदस्यहरूको समर्पणले सम्भव भएको हो, उनले लेखेका छन्, पुराना साथीहरूले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले हाम्रो यात्रालाई यहाँसम्म ल्याएको हो ।

लामिछानेले अब रास्वपाको लक्ष्य केवल वैकल्पिक राजनीतिक शक्ति बन्ने नभई मुलुकको नेतृत्व गर्न सक्ने सक्षम राजनीतिक शक्ति बन्ने रहेको स्पष्ट पारे । त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनु आवश्यक रहेको उनको भनाइ छ ।

संगठन विस्तारका क्रममा ‘म रहन्न कि’ भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्ने उल्लेख गर्दै उनले पार्टी ठूलो हुँदा सबैको भूमिका अझ अर्थपूर्ण र प्रभावकारी हुने बताए । साथै, पार्टीलाई राष्ट्रिय नेतृत्वको स्तरमा पुर्‍याउन सबैले सामूहिक भावना, समर्पण र जिम्मेवारीबोधका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।