ब्रेकिङ न्युज

बँदेल छोप्न श्रीमान्‌ले बिछ्याए विद्युतीय पासो : परिन् श्रीमती, गयो ज्यान


१७ असार, बुटवल । जंगली जनावरबाट बाली जोगाउन बारीमा थापिएको विद्युतीय पासोमा परेर गुल्मीमा एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरेन्द्र विश्वकर्माका अनुसार धुर्कोट गाउँपालिका–५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा जंगली बँदेलबाट बाली जोगाउन बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी पासो थापेका थिए ।

सोही करेन्टमा परी उनकी ६० वर्षीया श्रीमती हुमकला भण्डारी गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिए पनि बिहान ३ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनापछि करेन्ट प्रवाह गर्ने भेषराज भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्कालगायत कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।

पहाडी जिल्लाहरूमा पछिल्ला वर्षहरूमा बँदेल, बाँदर, नीलगाईलगायत जंगली जनावरले बालीमा ठूलो क्षति पुर्‍याउँदै आएका छन् ।

रातदिन खेतबारी कुरेर पनि बाली जोगाउन मुस्किल हुने भएपछि कतिपय किसानले विद्युतीय तार वा अन्य जोखिमपूर्ण पासो प्रयोग गर्ने गरेका छन् ।

यस्ता उपायले मानव जीवन नै जोखिममा पर्ने भएकाले सुरक्षा अपनाउन र वैकल्पिक उपाय अवलम्बन गर्न प्रहरीले आग्रह गरेको छ ।