२७ असार, काठमाडौं । कोशी अस्पताल विराटनगरको स्वामित्वमा रहेको अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया तीव्र बनेको छ। अस्पताल प्रशासनले सोमबारदेखि डोजर प्रयोग गरी अवैध संरचना हटाउने चेतावनी दिएपछि शनिबारदेखि नै सटरहरू खाली गर्न थालिएको हो।
विराटनगर–७ स्थित अस्पताल चोकको बहुमूल्य सरकारी जग्गामा विभिन्न संस्थाले वर्षौंदेखि स्थायी संरचना निर्माण गरेर प्रयोग गर्दै आएका थिए। ती संरचनामा सञ्चालनमा रहेका ३० भन्दा बढी सटर पनि भाडामा दिइएका थिए।
अस्पताल प्रशासनले सात दिनभित्र अतिक्रमित संरचना हटाउन यसअघि नै सूचना जारी गरेको थियो। तोकिएको समयसीमा सोमबार सकिने भएकाले सम्बन्धित पक्षले डोजर चल्नुअघि नै सटर खाली गर्न थालेका हुन्।
यसअघि गृहमन्त्री र स्वास्थ्यमन्त्रीले स्थलगत निरीक्षण गर्दै अस्पतालको जग्गा खाली गराउन निर्देशन दिएका थिए। त्यसपछि अस्पताल प्रशासनले सरकारी स्वामित्वको जग्गा फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको हो।
अस्पतालको नाममा रहेको बहुमूल्य जग्गा वर्षौंदेखि विभिन्न संस्थाले प्रयोग गर्दै आएको अवस्थामा अब भने अतिक्रमण हटाएर सरकारी स्वामित्व पूर्ण रूपमा कायम गर्ने तयारी गरिएको छ।





