समाचार

राणाकालीन भवन श्रीमहलको पुनःनिर्माण

काठमाडौँ । पुल्चोकस्थित राणाकालीन भवन श्रीमहलको पुनःनिर्माण आगामी वैशाखदेखि शुरु हुने भएको छ । अहिले ठेक्का सम्झौताको प्रक्रिया भइरहेकाले दुई महीनाभित्र निर्माण कार्य शुरु हुने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ अन्तर्गको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ ।

स्थानीय पूर्वाधार विभाग (पहिले विभागलाई स्थानीय पूर्वाधार विकास र कृषि सडक विभाग, डोलिडार भनिन्थ्यो) रहेको सो भवन विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनेको थियो । भवन जीर्ण भएपछि यहाँ रहेको विभागलाई यहीँ अर्को भवनमा सारिएको छ ।

भवनको पुनःनिर्माण सोही विभाग अन्तर्गतकै परियोजनाले ठेक्का सम्झौता मार्फत गर्न लागेको परियोजना प्रमुख गणेशराज वस्तीले बताए । उनका अनुसार भवन निर्माणका लागि अघिल्लो महीना ठेक्का आह्वान भएकामा अहिले आवेदन दिएका कम्पनीको प्राविधिक क्षमता र आर्थिक क्षमता हेर्ने काम भइरहेको छ । उनले भने, “मूल्याङ्कन सकिएपछि आगामी महीना ठेकेदार कम्पनी सार्वजनिक हुनेछ ।”

गत वर्ष एकाइले भवनमा कतिसम्म क्षति पुगेको छ भन्ने अध्ययन गरेर प्रतिवेदन प्रस्तुत गरेको थियो । प्रतिवेदनमा भवन नभत्काई प्रवलीकरण गरेर मात्रै नहुने भन्दै पूरै भत्काएर नयाँ निर्माण गर्नुपर्ने उल्लेख छ । त्यसैका आधारमा पुनःनिर्माण गर्न लागिएको परियोजना प्रमुख वस्तीले बताए। भूकम्प गएको लामो समयसम्म पनि यो भवन पूरै भत्काएर नयाँ बनाउने कि क्षति पुगेका भागमा मात्रै काम गर्ने भन्ने विषयमा छलफल भइरहेको थियो । उनले भने, “पुनःनिर्माण नै गर्ने भन्ने निर्णय भए पनि भवनको डिजाइन गर्न लामो समय लाग्यो ।”

काठमाडौँ उपत्यकामा रहेका अरु ऐतिहासिक भवनजस्तै उक्त भवनमा पुनःनिर्माण गर्दा पूरै भत्काएर पुनःनिर्माण गर्ने कि क्षति पुगेका भागमा मात्रै प्रबलीकरण गर्ने भन्नेमा गत वर्षसम्म एकमत नभएको वस्तीले बताए । राणाकालीन यो संरचना निर्माण भएको ९९ वर्ष पुगेको छ । प्राचीन स्मारक संरक्षण ऐनले १०० वर्ष पुरानो भवनलाई मात्रै समेट्ने हुँदा भत्काएर नै पुनःनिर्माण गर्न सकिने प्रमुख वस्तीले बताए । उनले भने, “पूरै भत्काएर पहिलेको स्वरूपमा परिवर्तन नआउने गरी पुनःनिर्माण गर्ने निष्कर्षपछि नै ठेक्का प्रक्रिया शुरु भएको थियो ।” चार तले उक्त भवन बेलायती शैलीको रहेको छ । भवन निर्माणको लागत नेपाल सरकारको हुनेछ । प्राधिकरणको म्याद दुई वर्ष भएकाले त्यही अवधिमा काम सम्पन्न गर्ने योजना रहेको वस्तीले बताए । उनले भने, “अवरोध नआएमा तोकिएको अवधिमा काम सकिनेछ ।”

श्रीमहल अर्थात् श्रीदरबार राणा प्रधानमन्त्री चन्द्रशम्शेरले निर्माण गर्न लगाएको पाइन्छ । उनले त्यतिबेला दुईमुखे भवन बनाउन लागेका थिए । आफ्नी कान्छी महारानी बालकुमारीदेवी र महारानीका जेठा छोरा विष्णु शम्शेरका लागि भनेर यो भवन निर्माण भएको थियो । भवन एकै पटक विसं १९७६ वैशाखमा बन्न शुरु भएको थियो र दुई वर्षमा यसको निर्माण सम्पन्न भएको तथ्याङ्क छ । त्यो दुईमुखे भवन पछि छुट्याइएको पाइन्छ ।

चन्द्रशम्शेरका नाति अर्थात् विष्णु शम्शेरका छोरा पीताम्बर शम्शेरले तत्कालीन श्री ५ को सरकारलाई सो भवन दिएको पाइन्छ । पीताम्बर शम्शेरले सरकारलाई दिएको सो भवनमा पहिले कृषि क्याम्पस सञ्चालन हुने भनिएको थियो तर पछि कृषि विभागको कार्यालय बस्यो । त्यसपछि भवनमा स्थानीय विकास मन्त्रालय र पछि स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको कार्यालय बसेको थियो । डोलिडार नै पछि स्थानीय पूर्वाधार विभाग बन्यो । भूकम्प अघिसम्म त्यही भवनमा रहेको विभाग भूकम्पले भवन जीर्ण भएपछि परिसरमा नै बनेको नयाँ भवनमा सरेको छ ।