राजनीति

देशको राष्ट्रियताको पक्षमा सबै दलको साझा मत हुनुपर्छः नेता श्रेष्ठ

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता सुवास नेम्वाङले राजनीतिज्ञमा प्रष्ट वैचारिक दृष्टिकोण, सामाजिक आदर्श र निष्ठाको खाँचो रहेको बताएका छन् । चन्द्रबहादुर गुरुङ स्मृति अध्ययन प्रतिष्ठानले चन्द्रबहादुर गुरुङको चौंथो स्मृतिसभामा आज आयोजित कार्यक्रममा उनले तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री गुरुङले संविधानसभामा फरक मत राखेर पनि संविधान निर्माणमा सहयोग गर्नुभएको बताए ।

पहिलो संविधानसभामा उक्त पार्टीको नेतृत्व गर्नुभएका गुरुङले धर्मलगायत विषयमा फरक मत प्रकट गरेर पनि बहुमतलाई सम्मान गर्दै देशमा राजनीतिक स्थिरताको वातावरण तयार गर्न भूमिका निर्वाह गर्नुभएको पूर्व सभामुख नेम्वाङको भनाइ थियो । पार्टीका अध्यक्ष कमल थापाले राजनीतिमा अहिले अपराधीकरण बढेर गएको र शक्ति तथा सत्ताका लागि अमानवीय तरिकाले हत्या हिंसाका घटना भइरहेकाले त्यस्ता घटनालाई नियन्त्रण गर्न सरकार संवेशदनशील हुनुपर्नेमा जोड दिए । मुलुकको विकास र समृद्धिका लागि उद्योगको विस्तार गरी उत्पादन बढाउनुपर्नेमा उनले जोड दिए।
नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले गुरुङको राजनीतिक निष्ठालाई सम्मान गर्नुपर्ने बताउँदै देशको राष्ट्रियताको पक्षमा सबै दलको साँझा मत हुनुपर्छ भन्ने वैचारिक चिन्तनबाट गुरुङ निर्देशित हुुनुहुन्थ्यो भने । समाजसेवा, खेलकूद र राजनीतिक क्षेत्रमा गुरुङको योगदान उल्लेखनीय रहेको अन्य सहभागीहरूले त्यसबखत बताएका थिए ।