काठमाण्डौ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली आइतबार अजरबैजानबाट फर्किएपछि प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच सोमबार भएको भेटघाटका क्रममा समसामयिक विषयमा छलफल भएको अध्यक्ष दहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।
प्रधानमन्त्री ओली अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी भई आइतबार स्वदेश फर्किएका हुन्।
प्रेस सल्लाहकार सापकोटाले भने,“प्रधानमन्त्री अजरबैजानबाट फर्किएपछि दुई अध्यक्षबीच हिजै भेटघाट हुने कुरा थियो, हिजो समय नमिलेपछि आज भेटघाट भएको हो । भेटमा प्रधानमन्त्रीको विदेश भ्रमण र अरू दैनिक घटनाक्रम भन्दा अन्य कुनै पनि विषयमा छलफल भएको छैन ।”
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दहालबीच मनमोटाव भएको समाचार आईरहेका बेला उक्त भेटघाट महत्वपूर्ण भएको राजनीतिकबृतमा अनुमान लगाईएको छ ।





