समाचार

छोरा बुहारी सहित नेता मैनाली दुर्घटनामा, उपचारको लगि सेनाको हेलिकप्टरबाट ग्राण्डी हस्पिटल ल्याइयो

काठमाडौं । नेकपा (माले) का महासचिव चन्द्रप्रकाश मैनाली आज अपराह्न सडक दुर्घटनामा परी घाइते भएका छन् । गृह जिल्ला झापाबाट काठमाडौँ जाँदै गर्नुभएका नेता मैनाली बिपी राजमार्गमा पर्ने महोत्तरीको बर्दिवास नगरपालिका–३ कालापानीमा सडक दुर्घटनामा परी परिवारका अन्य सदस्यसहित घाइते भएका हुन् ।

नेता मैनाली भढेका बा ७ च २१२० नम्बरको कार विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ८६६८ नम्बरको पिकअप भ्यानसँग ठोक्किँदा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । दुर्घटनामा परी नेता मैनाली, उनका छोरा सरोज, बुहारी पूजा ढुङ्गाना, नाति एन र कारचालक रामप्रसाद पौडेल घाइते भएको इप्रका बर्दिवासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन चापागाइँले जानकारी दिए । घाइते पाँचै जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ, धापासीस्थित ग्राण्डी इण्टरनेशनल हस्पिटलमा पठाइएको छ ।

दुर्घटनाको खबर पाएलगत्तै प्रहरी टोलीले घाइतेको उद्धार गरी बर्दिबास–१ स्थित जनसेवा अस्पताल पु¥याएको थियो । पाँचैजनामध्ये नेता मैनाली र उनकी बुहारी पूजालाई गम्भीर चोट लागेको चिकित्सकले बताएका छन् ।