काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको एक साता हुँदा पनि गम्भीर छानबिन नभएकोमा असन्तुष्टि जनाएका छन् ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विशेष समयमा बोल्दै उनले तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड मागेको अडियो सार्वजनिक हुँदा पनि छानबिन नहुनु दुःखको विषय भएको सुनाए ।
“सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण हप्ता पुगिसक्दा पनि गम्भीर छानबिन नहुनु को पछाडि के नियत ? सञ्चारमन्त्रीले हामीलाई कति आउँछ भनेर बोलेको प्रस्ट सुनिन्छ,” प्रधानमन्त्रीतर्फ लक्षित गर्दै उनले भने, “म सम्माननीय प्रधानमन्त्रीलाई के सोध्न चाहन्छु भने, हामी भनेर कसलाई भनेका हुन् ? हामीभित्र को को पर्दछन् ? ” उनले छानबिन नहुँदै प्रधानमन्त्री ओलीले अडियो नक्कली भनेर छानबिन प्रभावित गर्न खोजेको आरोप पनि लगाए ।
त्यस्तै, उनले नेपाल ट्रस्टको श्वेतपत्र ७० करोड प्रकरणबाट ध्यान मोड्नका लागि ल्याइएको पनि बताए । गोकर्ण रिसोर्ट प्रकरण, नेपाल टेलिकममा अर्बौं भ्रष्टाचार भएको कुरा आएको भन्दे त्यसबाट देशको ध्यान मोड्न खोजिएको भनदै छानबिन नभएकामा उनले असन्तुष्टि जनाए ।





