खेलकुद

टेबलटेनिस प्रतियोगितामासुशील र रोजनले पाए स्वर्ण

काठमाडौं । सुशील न्यौपाने र रोजन गौतमले चौथो आरुणी कप उपत्यकाव्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा आज स्वर्णपदक जितेका छन् । सुशील यु–१० तथा रोजन यु–१२ ब्वाइज सिङ्गल्समा च्याम्पियन बने ।

स्वर्ण विजेताद्वय आयोजक आरुणी स्कूलका हुन् । यु–१० ब्वाइज सिङ्गल्स फाइनलमा सुशीलले आफ्नै स्कूलका गौरव बस्नेतलाई ११-५, ६-११, १३-११ र ११-९ को सेटमा पराजित गरे । यु-१२ ब्वाइज सिङ्गल्स फाइनलमा रोजनले विजेश्वरीका एड्रिन शाहीलाई ११-७, ५-११, ११-५, ६-११ र ११-० को सेटमा हराए । यु–१६ ब्वाइज सिङ्गल्समा एभरेष्टका समिर खत्री पहिलो भए । उनले फाइनलमा आरुणीका सुशान्त चौलागाईलाई ११–८, ११–८ र १२–१० को सोझो सेटमा पाखा लगाए ।

यु–१४ ब्वाइज सिङ्गल्स फाइनलमा एभरेष्टका हिमाल विष्टले प्रोक्सिमाका रोमन थापा मगरलाई ११-८, ११-७ र ११-२ को सिधा सेटमा पन्छाउँदै स्वर्ण जिते । ब्वाइज डबल्समा एभरेष्टका समिर खत्री र हिमाल विष्टको जोडीले स्वर्ण जित्यो । फाइनलमा उक्त जोडीले आरुणीका सुशान्त चौलागार्इं र रोजन गौतमको जोडीलाई ११–५, ११–६ र १२–१० ले निराश पारे ।

सोही स्पर्धाको गल्र्स फाइनलमा प्रोक्सिमाका दिया देउला र नर्मदा खाइतुको जोडीले प्रभातका आरती सुवाल र प्रदीपा सुवालको जोडीमाथि ११–७, ११–९ र ११–८ को जीत दर्ता गर्दै पहिलो स्थान हात पारे । दुई दिने उक्त प्रतियोगितामा विभिन्न ३२ विद्यालयका ३१६ खेलाडीले १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।