राजनीति

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गरिँदैः कांग्रेसले गर्योे स्वास्थ्य लाभको कामना

काठमाडौं । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज ट्वीट गर्दै ओलीको आज हुन लागेको मृगौला प्रत्यारोपणको सफलता संगै सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

शर्माले उच्च मनोबल साथ आफ्नो स्वास्थको प्रतिकुलता चिर्न ओलीलाई सक्षमता मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आज दोस्रो पटक नेपालमै मृगौला प्रत्यारोपण हुँदै छ ।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले अहिले बिहान करिब ९ बजे प्रत्यारोपण शुरु गर्नेछ ।

मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार नै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । उनलाई नाताले भान्जी पर्ने युवतीले मृगौला दिने भएकी छन् ।

यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

उनको ट्वीटः सम्माननिय @PM_Nepal  को आज हुन लागेको मृगौला प्रत्यारोपणको सफलता संगै सिघ्र स्वास्थलाभको कामना गर्दछु  । उच्च मनोबल साथ आफ्नो स्वास्थको प्रतिकुलता चिर्न उहाँलाई सक्षमता मिलोस् हार्दिक शुभेच्छा व्यक्त गर्दछु ।