४ बैसाख, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा डिला संग्रौलाले कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी महामारी भइरहेको वर्तमान अवस्थामा सरकारको मूलकार्य महामारी नियन्त्रण, न्यूनीकरण र संक्रमितहरुको उपचार गर्नु भएको बताएकी छन् ।
उनले यस्तो अवस्था भएपनि वर्तमान सरकार जनताप्रतिको आफ्नो जिम्मेवारीबाट पन्छिदै संकटको घडीमा पनि आफ्ना निकटस्थहरुलाई राजनीति व्यवस्थापन र जागिर खुवाउने सोचका साथ मन्त्रिपरिषद्ले भूमि सम्बन्धि समस्या समाधान आयोगको नियुक्ती गरेको दाबी गरेकी छन् ।
डा संग्रौलाले यस्तो माहामारीको समयमा नियुक्ती गर्नु यो त वेमौसमको बासुरी बजाए जस्तै भएको बताउँदै अहिले सरकारको मुख्य जिम्मेवारी भनेको महामारी नियन्त्रण, न्यूनिकरण र संक्रमितको उपचार गर्नु नै हो भनेकी छन् ।
उनले भनिन्, ‘यो सरकारलाई प्रतिपक्षी दल लगायत सबैको साथ हुँदाहुँदै ठीक बाटोमा हिँड्न सकेन, जबकी सबै जनताले लकडाउनको पालना गरी सरकारलाई सहयोग गरिरहेका छन् । स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताबारे छानबिन गरी अगाडि बढ्नुको सट्टा मतियारहरुलाई समेत स्वयं सरकारले ढाकछोप गर्न लागेकोमा नेपाली जनतामा आक्रोशको भावनासमेत पैदा भएको छ । महामारी नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी एवं स्थानीय जनप्रतिनिधिहरुले गरेको कामको उच्च सम्मान प्रकट गर्दै सरकारको तर्फबाट सुरक्षालगायत आवश्यक व्यवस्था मिलाउन ध्यानाकर्षण गर्दछु । लकडाउनको अवस्थामा रोजगारी गुमाएर अलपत्र परिरहेका मजदुर श्रमिकको उचित खानपीन र बसोबासको व्यवस्था गर्न नसक्दा भोकै नाङ्गै पैदल यात्रा हिँडिरहेका श्रमिकको समूचित व्यवस्थापन गर्नसमेत सरकारसमक्ष अनुरोध गर्दछु ।’





