५ बैशाख काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरुण दलले लकडाउनका कारण पैदल घर हिँडेर बाटोमा अलपत्र परेका मजदुरहरुलाई खान, बस्न र घर पुर्याउने ब्यबस्था गर्न सरकार संग माग गरेको छ ।
संगठनका अध्यक्ष जितगंग बस्नेतले विज्ञप्ति जारी गर्दै कोरोना माहामारी संकटको यो समयमा परिक्षणको दायरालाई तीब्र गतिमा अगाडी बढाउनु पर्ने बेला सरकार आफना कार्यकर्तालाई जागिर दिनका लागि विभिन्न आयोगमा नियुक्त गर्दै रमाइरहेको भन्दै अनावश्यक र गैर जिम्मेवार क्रियाकलापको पनि घोर निन्दा गरेका छन् ।
साथै आगामी दिनमा यस्ता गतिविधि नगर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । तरुण दलले यस्तो विषम परिस्थितिमा मानव स्वास्थ्यका लागि आवश्यक पर्ने पर्याप्त सुरक्षाका साम्रागी बिना पनि अग्रपङक्तिमा रहि काम गरिरहेका स्वास्थ्यकर्मी, संचारकर्मी, सुरक्षाकर्मी, आपूर्तिकर्ता, एमबुलेन्स चालक, फोहोर संकलकहरुको नेपाल तरुण दल मुक्तकंण्ठले प्रशंसा समेत गरेको छ ।
साथै यी वर्गका लागि आवश्यक पर्ने सुरक्षा साम्रागी संग संगै थप सुविधा पनि चाडो भन्दा चाडो व्यवस्था गर्न सम्बन्धित निकाय संग माग गरेको छ । तरुण दलले लकडाउनका समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुर वर्गहरु मारमा पर्ने हुँदा उनीहरुका निम्ति आवश्यक राहातको प्रबन्ध गराउनका लागि लकडाउन सुरु भए देखिनै पटक पटक ध्यानाकर्षण गराउदै आएपनि सरकार यो कार्यमा चुकेको दाबी गरेको छ ।
अध्यक्ष बस्नेतले मुलुकभर लकडाउन भएपछि दैनिक ज्यालादारी गरी जिवन निर्वाह गर्नेहरु खान, बस्न समस्या भई केही हिडेरै आफनो घर पुगेको र केही बाटोमा अलपत्र परी कष्टपूर्ण जीवन बिताउन बाध्य भएको तर्फ दुःख व्यक्त गरेका छन् ।
कोरोना संक्रमण फैलिन नदिनका लागि जारी गरिएको लकडाउन लगाएत रोकथामका अन्य कार्यमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सम्पूर्ण भातृ संगठनहरुले सहयोग गरिरहेका बेला सरकार भने आफनो जिम्मेवारीबाट बिमुख हुँदै र वर्तमान समयका लागि अनावश्यक गतिविधिमा रुमल्लिरहेको भान भएको उनले बताएका छन् ।
साथै थरुण दलले आफ्ना सम्पूर्ण कार्यकर्ताहरुलाई आ–आफनो तर्फबाट राजमार्गमा हिडेर आफनो गन्तव्यमा गइरहेका मजदुरहरुका लागि ठाउँ ठाउँमा खाना, पानी र विश्राम स्थलको व्यवस्था गरी यात्रामा सहजता प्रदान गरिदिन अनुरोध गरेको छ ।






