१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले आफु सभापति भएपछि पहिलो काम नै पार्टी विधान संशोधन गर्ने बताएका छन् । रेडियो काठमाडौं ९२.१ मेगाहर्जमा युपी लामिछानेसँग कुरा गर्दै महामन्त्री कोइरालाले पार्टी पदाधिकारीमा कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनुपर्ने गरि बनाइएको विधानमा असहमति जनाएका हुन् ।
“म सभापति भएपछि तीनवटा काम गर्नेछु । पहिलो पार्टी एक गर्ने, दोसो विधान परिवर्तन गर्ने र तेस्रो महिलालाई पार्टीमा ५० प्रतिशतको व्यवस्था गर्ने,” उनले भने ।
त्यस्तै महामन्त्री कोइरालाले शेरबहादुर देउवाबाट पार्टी सन्चालन नभएको भन्दै अब पार्टीमा परिवर्तन हुनुपर्ने बताए ।
“पार्टी सभापतिले संगठन त हाँक्नुपर्यो नी । कोषाध्यक्षको पदमात्र मनोनित हुन्छ । जो सभापति भएपनि पार्टी उसले कसरी चलाउँछ ?” कोइरालाले भने, “पदाधिकारी सबैको निर्वाचन गर्ने कुरा मलाई पटक्कै चित्त बुझेको छैन । ” सभापति भएँ भने मेरो पहिलो काम यो विधानमा परिवर्तन गर्ने भन्दै महामन्त्री र उपसभापति २÷२जना भए एउटा मनोनित र एक निर्वाचित हुने व्यवस्था राख्नुपर्ने उनको भनाई थियो ।
अहिलेको विधान बनाउँदा नै यो विधानले पार्टी चल्दैन भनेको स्मरण गर्दै उनले पार्टीलाई वीपी कोइरालाको बेलामाजस्तै प्रेसिडेन्सियल सिस्टममा पार्टी चल्नुपर्छ भनेर आफुले भनेपनि कसैले नसुनेको उनको गुनासो थियो ।
त्यस्तै महामन्त्री कोइरालाले सबैलाई मिलाएर आफु सभापतिको उमेदवार बन्ने विशस पनि व्यक्त गरे । त्यस्तै, उनले देशलाई समृद्ध बनाउन कृषिलाई आधुनिकिकरण र व्यवसायिकरण गर्नुपर्नेमा जोड दिए ।
महामन्त्री कोइरालाले विगतमा पार्टीमा दुख गरेका, प्रवासमा रहेर संघर्ष गरेकाहरुको आवाजलाई पनि सुनुवाई गर्ने आफ्नो प्रतिवद्धता रहेको बताए ।





