१९ भदौ, काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले वाग्लुङको बाढीमा परी वेपत्ता भएका व्यक्तिहरुको तत्काल खोजी गरी उद्दार गर्न, घाइतेहरुको स्वास्थ्य उपचारको प्रबन्ध मिलाउन साथै कालिकोट लगायत हालसम्म अन्य स्थानका बाढी, पहिरो डुवानबाट विस्थापित भएका घरपरिवारहरुलाई सुरक्षित स्थानमा पुनस्र्थापन गरी राहत विवरण र मृत्यु भएका घरपरिवारहरुलाई उचित क्षतिपूर्ति दिन नेपाल सरकारसँग जोडदार माग गरेका छन् ।
नेता खाणले यस वर्षको वर्षायाम शुरु भए देखि देशका विभिन्न स्थानहरुमा बाढी, पहिरो र डुवानका दुःखद घटनाहरु घटिरहेका स्मरण गराउँदै यस वर्षमा बाढी, पहिरो तथा डुवानमा परी करिब ३०० जना व्यक्तिले ज्यान गुमाइसकेका र २०० जना भन्दा बढी घाइते भएको जनाएका छन् । उनले कयौं व्यक्तिहरु हालसम्म वेपत्ताको स्थितिमा भएको भन्दै विभिन्न स्थानमा घटेका बाढी, पहिरो तथा डुवानका कारण हजारौं घरपरिवारहरु विस्थापित भएका र करोडौंको धनमालमा क्षति पुगेको अनि कयौं स्थानमा मानववस्ती, खेतीयोग्य जमीनका साथै पुल तथा सरकारी, सामुदायिक र विद्यालय भवन एवं अन्य भौतिक संरचनाहरुलाई पूर्णरुपले क्षति पु¥याएको देखाउँदै देशभर घटिरहेको बाढी, पहिरो र डुवान लगायतका प्राकृतिक विपदका दुःखद घटना प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दछ भनेका छन् ।
नेपाली कांग्रेस पार्टीले बाढी, पहिरो र डुवानको क्षति न्यूनिकरणका लागि तत्काल उद्दार टोली परिचालन र प्रभावकारी संयन्त्रको निर्माण गर्न, साथै जोखिमयुक्त स्थानहरुलाई पहिचान गरी त्यहाँका नागरिकहरुलाई तत्काल अन्यत्र सुरक्षित स्थानमा व्यवस्थापन गरी जनताको जीउधनको सुरक्षाका लागि संसदमा आवाज उठाउँदै, विभिन्न समयमा प्रेस विज्ञप्ति मार्फत एवं मौखिम रुपमा समेत सरकारको बारम्बार ध्यानाकर्षण गराउँदै आएता पनि वर्तमान सरकारले यस विषयलाई गम्भीर रुपमा नलिएको संसदीय दलको ठहर रहेको प्रमुख सचेतक खाणले बताएका छन् ।
नेता खाणले भनेका छन्, ‘सरकारले यस वर्षको बजेटमा समेत बाढी, पहिरो र डुवान नियन्त्रणलाई प्राथमिकतामा राख्न सकेन, सरकार यस्तो संवेदनशील विषयमा गम्भीर नहुनु अत्यन्त दुःखद पक्ष हो । आफ्ना नागरिक प्रति जिम्मेवारीवोध नहुनु सरकारको यस किसिमको रवैया प्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दछ । सरकारलाई यस विषयमा गम्भीर हुन नेपाली कांग्रेस पुनः आग्रह गर्दछ ।’
उनले जनाएका छन्, ‘हालै मात्र वाग्लुङ र कालिकोटमा मानवीय क्षति हुने गरी ठूलो बाढी र पहिरोका घटना घटेका छन् । वाग्लुङको ढोरपाटन न.पा. वडा नं. ७, ८ र ९ मा गत बुधबार राती गएको बाढीमा परी करिब १५ जनाले ज्यान गुमाए भने ४ घाइते, २३ जना बेपत्ता र करिब ३१ घरपरिवार प्रभावित भएका छन् । यसै गरी पहिरोमा परी कालिकोटको तिलागुफा न.पा वडा नं १ मा १० जनाले ज्यान गुमाउनुका साथै २ जना घाइते र नरहरीनाथ गा.पा. मा १ जनाको मृत्यु भएको छ ।’





