२३ भदौ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कोरोनाको लकडाउनकै बीचमा आफ्ना कार्यक्रमहरुलाई अघि बढाइरहेको जनाएको छ । प्रतिष्ठानले प्रदेश अन्तर्गत जिल्ला प्रशिक्षणहरु भइरहेका र भर्चुअल माध्यमद्वारा संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटाका पार्टीका महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, पूर्व पदाधिकारीहरु, भ्रातृ तथा शुभेच्छुक संस्थाका सदस्यहरु सहभागी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको जानकारी दिएको छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवम् प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले राष्ट्रियता, लोकतन्त्र र समाजवादको आधारमा सबै एक रहेको र तिनै विचारले निर्दिष्ट परिवर्तनका उपलव्धिहरुमा समेत एकता हुनसके पार्टीमा कुनै गुट–उपगुट नरहने विचार प्रकट गरेको प्रतिष्ठानको दाबी छ । उपसभापति निधिले परिवर्तनको स्वामित्व नेपाली कांग्रेसले लिदा, पार्टीको नेतृत्वमा भएका राजनीतिक परिवर्तनहरुमाथि गौरव गर्दा, संविधानमा निहीत विषयहरुप्रति असहमति राख्ने दोहोरो कार्यले पार्टीलाई क्षति पु¥याउने तर्फ सबै सचेत रहनु पर्ने बताउँदै आगामी राष्ट्रिय निर्वाचनलाई केन्द्रमा राख्नु पर्ने बताए । उनले सिद्धान्त र झण्डा सबै नागरिकमा र रुख चिन्ह मतदातामा पु¥याउन सकेमा मात्र पार्टीले आगामी निर्वाचनमा बहुमत पाउनसक्ने विश्वास प्रकट गरे ।
भोजपुरका सभापति नन्दमणि राईको सभापतित्वमा सम्पन्न पहिलो सत्रमा ०१५ सालका सांसद तेजमान तुम्वाहाम्फे, पूर्वमन्त्री एवम केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य सीता गुरुड, पूर्वमन्त्री दीपक खड्का, पूर्वमन्त्री सुनिलबहादुर थापाले पार्टीलाई प्रशिक्षणमार्फत थप एकताबद्ध र सशक्त वनाउन सकिने विचार व्यक्त गरे । पूर्व सांसद तेजमान तुम्वाहाम्फेले संघीय लोकतान्त्रिक गणतन्त्र वीपीको सोच अनुरुप नै आएको हुनाले विश्वासकासाथ नेपाली कांग्रेसका सदस्यहरुले यसलाई बलियो वनाउनुपर्छ भने । उनले संविधान र पार्टीको घोषणा पत्र अनुसार दृढतापूर्वक काम गर्न कांग्रेसका सदस्यहरुलाई आग्रह समेत गरे ।
प्रतिष्ठानका सदस्य एवम् पार्टीका आमन्त्रित केन्द्रीय सदस्य मनोहरनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न दोस्रो सत्रमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राध्यापक पुरुषोत्तम दाहाल, प्रशिक्षण निर्देशक खिलानाथ दाहाल र प्रतिष्ठान सदस्य एवम् सचिवालय सदस्य राजु नेपालले प्रशिक्षणको उद्देश्य, पार्टीको विधान र वर्तमान सरकारको कार्य समीक्षा प्रस्तुत गरेका थिए। सहभागीहरुले पार्टीको आसन्न महाधिवेशन, विधान कार्यान्वयन, पार्टीले संचालन गर्नु पर्ने कार्यहरु आदिवारे जिज्ञाषा राखेका थिए।





