३० भदौ, चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घुमथाङको भिमखर्क र नाकबुच्चेमा शनिबार राति गएको पहिरोबाट विस्थापित परिवारलाई नगरपालिकाले आजदेखि एकद्वार प्रणालीबाट राहत वितरण गर्न शुरु गरेको छ ।
कोभिड १९ महामारीलाई ध्यानमा राखी विभिन्न संघसंस्था तथा व्यक्तिबाट प्राप्त राहत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी एकद्वार प्रणालीबाट वितरण गरिएको नगरप्रमुख निमफुञ्जो शेर्पाले बताए। पहिरोमा घाइते तीन जनालाई पनि नगरपालिकाले निःशुल्क उपचार गराई रहेको छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट बिस्थापित परिवारलाई त्रिपाल, टेन्ट, कम्बल, किट तथा भाँडाकुँडा पठाइसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । पहिरोबाट २२ घर पूर्णरुपमा क्षति भएको छ भने ५८ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
पहिरोमा बेपत्ता मध्ये हालसम्म १४ जनाको शव भेटिएको छ । भेटिएकामा २२ वर्षीय कुमार बिक, २१ वर्षीया सोनीका बिक र ५३ वर्षीय सिंहबहादुर प्रधान भएको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए । पहिरोमा अझै १७ जना बेपत्ता छन् । भिमखर्कबाट झरेको करिब डेढ किलोमिटर लामो पहिरो नाकबुच्चेलाई लछार्दै भोटेकोशी नदीमा गएर टुङ्गिएको छ । दुईवटा शवलाई नदीले बगाएको अवस्थामा फेला परेको हुँदा नदी छेउमा रहेको नाकबुच्चेका बेपत्तालाई पनि नदीले बगाएको आशङ्का गरिएको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए ।
बेपत्ताको नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको तीन टोली बनाई बिहानैदेखि घरेलु औजारबाट खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । मानिसबाट खोजी कार्य सम्भव नदेखिएपछि बिग्रेका सडक मर्मत गर्दै आजसम्ममा स्काभेटर लाने नगरपालिकाको जनाएको छ ।





