३० असोज, काठमाडौं । विश्वभरी महामारीका रुपममा कोरोना भाईरस फैलिरहेका बेला संक्रमण नियन्त्रणको औंषधिलाई लिएर केहि खुसिको कुरा बाहिर आएको छ । चिनको एक कम्पनीले बनाईरहेको कोरोना भाईरसविरुद्धको खोप पहिलो र दोस्रो चरणको परिक्षणमा सुरक्षित रहेको पाईएको तथ्या बाहिर आएको हाे ।
चिनियाँ सरकारद्वारा सञ्चालित सिनोफार्म कम्पनीले विकास गरेको कोरोना खोप बीबीआईबीपी–कोरभिको पहिलो र दोस्रो चरणको परिक्षण सफल भएको द ल्यान्सेट जर्नलले बिहिबार एक रिपोर्ट सार्वजनिक गरेको छ । पहिलो र दोस्रो चरणको परिक्षणमा सहभागी व्यक्तिलाई गम्भीर प्रकृतिको कुनै नकारात्मक प्रतिक्रिया नदेखिएको र शरीरमा एन्टीबडी पनि विकास भएको उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।
साथै १८ वर्षदेखी ८० वर्ष समुहका व्यक्तिलाई खोप परिक्षणमा सहभागी गराईएको थियो । अध्ययनका अनुसार ६० वर्षभन्दा माथिका व्यक्तिमा एन्टीबडी बन्न बढी समय लागेको थियो । यो उमेर समूहका व्यक्तिमा एन्टीबडी बन्न ४२ दिनसम्म लागेको अध्ययनमा उल्लेख छ ।
युवा उमेर समूहका सहभागीमा भने २८ दिनसम्ममा एन्टीबडी विकास भएको बताइएको छ । उमेर समूहअनुसार एन्टीबडीको मात्रा पनि फरक रहेको अध्ययनमा पाइएको छ । कम उमेर समूहका व्यक्तिमा भन्दा वृद्धवृद्धामा एन्टीबडीको मात्रा कम भएको अध्ययनमा देखिएको छ ।
चिनको वुहान सहरबाट कोरोना महमारी फैलिएको झण्डै एक वर्ष हुनै लाग्दापनि खोप निमार्ण हुन नसक्दा आजसम्मपनि यो प्रकोपले पुरै विश्वलाई सताई रहेको बेला आएको यो खबरले केहि आशा पलाएको छ ।





