अन्तर्राष्ट्रिय

लेबनानका पूर्व प्रधानमन्त्री हरीरी पुनः प्रधानमन्त्रीमा निर्वाचित

७ कार्तिक, एजेन्सी । लेबनानका पूर्व प्रधानमन्त्री साद हरीरी पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनि यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका छन् । निवर्तमान प्रधानमन्त्री मुस्तफा अडिबले गत सेप्टेम्बरको अन्त्य तिर राजीनामा दिएकाले हरीरीले फेरी प्रधानमन्त्री बन्ने मौका पाएका हुन् ।

लेबनानको राष्ट्रपतिको कार्यालयले हरीरीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको र उनलाई मन्त्रीपरिषद् गठन गर्न आह्वान गरिएको जनाएको छ । संसदमा उनलाई प्रधानमन्त्री निर्वाचित गराउने बेलामा भएको मतदानमा ६५ जनाले हरीरीको पक्षमा मतदान गरेका थिए । त्यसैगरी ५३ जनाले मतदानमा भाग लिएका थिएनन् भने दुई जना अनुपस्थित रहेका थिए ।

यसअघि सन् २०१६ देखि हरीरीकै नेतृत्वमा सरकार बनेको थियो । त्यसपछि उनले गत सन् २०१९ को अक्टोबर १८ मा राजीनामा दिएका थिए । उनि नेतृत्वको सरकारका विरुद्धमा व्यापक आन्दोलन भएपछि उनले राजीनामा दिएका हुन् । उनलाई आर्थिक संकटमा मुलुकलाई धकेलेको आरोप लगाइएको थियो ।

त्यसपछि गत जनवरी २०२० मा हसन डियबको नेतृत्वमा नयाँ सरकार बनेको थियो । तर उनि धेरै समय टिक्न सकेनन् । गत अगस्टमा राजधानी बेरुतमा ठूलो बम विस्फोटनको घटना भएर दुई सयभन्दा बढीको मृत्यु र हजारौँ घाइते भएपछि उनि राजीनामा दिन बाध्य भएका हुन् ।

नवनिर्वाचित प्रधानमन्त्री हरीरी सन् २००९ देखि २०११ सम्म पहिलो पटक प्रधानमन्त्री भएर सरकारको नेतृत्व गरेका थिए । उनि देशका पूर्व प्रधानमन्त्री राफिक हरीरीको माइलो छोरा हो । पूर्व प्रधानमन्त्री राफिकको सन् २००५ मा हत्या भएको थियो । त्यसपछि नै उनका छोरा साद राजनीतिको केन्द्रीय भागमा उदाएका हुन् । उनि फ्युचर मुभमेन्ट पार्टीका नेता छन् ।