संगम बिष्ट, चक्रघट्टी-सुनसरी । नेपाली कांग्रेस वराहक्षेत्र नगर समितिले महाधिवेशनको पूर्व तयारीको कार्य शुरु गरेको छ । बराहक्षेत्र कांग्रेसले नगरपालिका भित्रका ११ वटै वडाका क्रियाशील सदस्य नविकरण गर्ने कार्य ३–४ दिनभित्र सम्पन्न गर्ने गरी महाधिवेशनको तयारी शुरु गरेको हो । नगर सभापति नारायण नेपालको अध्यक्षतामा सम्पन्न शनिवारको भेलाले ११ वडामै सम्पुर्ण क्रियाशिलको नबिकरण गरेर पौष ९ गते क्षेत्रिय समितिलाई बुझाउने निर्णय गरेको छ ।
जिल्ला अनुगमन प्रतिनिधि, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, नगर, वडा र भातृसंघसंस्थाका अगुवा नेता कार्यकर्ताहरुको भेलामा वडाले तीन दिनभित्र सदस्यता नविकरणको कार्य सम्पन्न गर्ने निर्णय गरेको जिल्ला अनुगमन प्रतिनिधि तथा जिल्ला सदस्य राजदिप लामाले बताए ।
आगामी फागुनमा महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका कोभिड–१९ का कारण प्रभावित भएपनि फागुनमा स्थानीय तह सम्मको भएपनि अधिवेशन प्रारम्भ हुन सक्ने भएकाले सुनसरी जिल्ला कार्यसमितिले पौष ७ गतेभित्र सदस्यता नविकरणको कार्य सम्पन्न गर्ने निर्णय गरेबमोजिम सहजीकरण र अनुगमनका लागि प्रतिनिधि खटी आएको जिल्ला अनुगमन प्रतिनिधि तथा जिल्ला सदस्य लामाले बताए। उनले पार्टी छाडी गएका, वाघी उम्मेदवार र उनको प्रस्तावक तथा समर्थक बसेका, पटकपटक आग्रह गर्दा पनि नविकरण गर्न इन्कार गर्ने बाहेक सबैको तोकिएको शूल्क लिई नविकरण गर्न आग्रह गरेका छन् । त्यसैगरी नेपाली कांग्रेस र तत्कालीन लोकतान्त्रिक फोरमका सदस्यहरुको नविकरण फाराम सट्टापट्टा नहुनेगरी अलग अलगै भर्न समेत उनले प्रष्ट्याएका छन् ।
भेलामा जिल्ला सदस्य दिपेश बस्नेत, संकर बस्नेत, कालुराम चौधरी नगर सभापति नारायण नेपाल, सह–सभापति जगद कार्की, रत्न राउत, नवराज बस्नेत, सचिब ख्यम थापा, अम्बर कट्वाल, नेपाल आदिबासि जनजाति संघ वराहक्षेत्र सभापति मधुकर तामाङ्ग, नेपाल शिक्षक संघ वराहक्षेत्र सभापती कृष्ण गुरागाई, तरुण दल वराहक्षेत्र सभापति पवन चाम्मलिङ्ग, सचिब मनोज तामाङ्ग, वडा सभापतिहरु लगायतको विचार व्यक्त एवम् उपस्थिति रहेको थियो । नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिका सभापति बाबुराम आचार्य लामाे समयकाे सुनसरी बसाइपछि शुक्रबारमात्र काठमाडौं फर्किनुपर्ने भएकाले उनी उक्त भेलामा देखिएनन् । आजको कार्यकर्ता भेलापछि बराहक्षेत्र आगामी महाधिवेशनका लागि तयार रहेको देखिएको छ । नेपाली काँग्रेस केन्द्रमा तोतेको १४ औं महाधिवेशन स्थानीय स्तरमा पनि सकृय रुपमा अगाडी बढ्न थालेको देखिएको छ ।





