काठमाडौं । काठमाडौं अनामनगरस्थित धोबीखोलासँगैको करिब आठ रोपनी व्यक्तिको नाममा दूषित दर्ता भएको जग्गा सरकारको नाममा मालपोत कार्यालय डिल्लीबजारले फिर्ता ल्याएको छ । १२ वर्षदेखि व्यक्तिको नाममा रहेको जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको हो ।
अनामनगर धोबीखोलानजिकको ७ रोपनी ७ आनाभन्दा बढी सरकारी जग्गा हरिप्रसाद गिरीलगायतले हडपेका थिए । जग्गा विषयमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया अघि बढाएको थियो । अख्तियार अनुसन्धानमा सरकारी जग्गा व्यक्तिको नाममा रहेको पाइएपछि ९ मंसिर २०६५ मा सरकारको नाममा फिर्ता ल्याउने निर्णय गरेको थियो ।
अख्तियारले दूषित दर्ता गराएको आरोपसहित सामाजिक विकास समाजको उजुरीका आधारमा छानबिन गर्दा हरिप्रसाद गिरी, टेकबहादुर पौडेललगायत व्यक्तिका नाममा सरकारी जग्गा घुसेको ठहर गरेको हो । अख्तियारको अनुसन्धान आधारमा मालपोत कार्यालय डिल्लीबजारले सरकारी जग्गा व्यक्तिको नाममा दूषित दर्ता गराएकाको नाममा सूचना जारी गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छ ।





