काठमाडौँ, १४ कात्तिक । उद्योगी व्यवसायीहरुको छाता सङ्गठन नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले देशको आर्थिक विकासका लागि राजनीतिक स्थिरता र नीतिगत सुधार अपरिहार्य भएको जनाएको छ ।
सिएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले मुलुकको अर्थतन्त्रको विकासका लागि औद्योगिकीकरण अपरिहार्य रहेको र सोका लागि समयसापेक्ष नीतिगत सुधार गरिनुपर्ने बताए ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिसँग आज समसामयिक विषयको छलफलका क्रममा अध्यक्ष अग्रवालले देशको अर्थतन्त्रको विकासका लागि राजनीतिक स्थिरता चाहिने बताएका छन् ।
उहाँले भन्नुभयो, “नीतिगत स्थिरता नहुँदा औद्योगिकीकरण र अर्थतन्त्रको प्रवद्र्धनका लागि समस्या भइरहेको छ, त्यसैले औद्योगिकीकरण अर्थतन्त्रको गुरु मन्त्र भएकाले यसले अर्थतन्त्र बढ्नाका साथै पूँजी पनि वृद्धि हुनेछ ।
” अध्यक्ष अग्रवालले कोभिडपछि अर्थतन्त्रका केही क्षेत्रमा अवस्था सामान्य बन्दै गएको भए पनि अझै एयरलाइन्स, होटेल आदि व्यवसायमा असहज परिस्थिति रहेकाले अर्थतन्त्रको विकासका लागि चुनौती रहेको औँल्याए ।
सिएनआईका निवर्तमान अध्यक्ष शतिशकुमार मोरले मुलुकको राजनीतिक अस्थिरताले अर्थतन्त्रलाई नकारात्मक असर पार्नसक्ने खतरा औँल्याउँदै समयसापेक्ष नीतिगत सुधार गरेर अर्थतन्त्रलाई गतिशील बनाउन जरुरी भएको उल्लेख गरेका छन् ।
सेजनका अध्यक्ष जनार्दन बरालले आर्थिक क्षेत्रको प्रवद्र्धन तथा आर्थिक पत्रकारहरुको दक्षता अभिवृद्धिका लागि दुवै संस्थाले सहकार्य गरेर अघि बढ्नु सकिने धारणा राखेका थिए ।





