६ मंसिर, काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टी एकीकरण गरेर गल्ती भएको बताएका छन् । पार्टी एकीकरणको समयमा बाहिरै बसेकाहरुले नयाँ दल दर्ता गरेपछि बधाई दिँदै उनले त्यो समयमा साझासँग एकीकरण गरेर गल्ती भएको स्वीकारेका हुन् । पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् राख्दै सबै सदस्यको स्वीकृतिबिना पार्टी एककिरण गर्नु गलत भएको भन्दै माफी समेत मागेका छन् ।
उनले आफ्नो फेसबुकमा लेखेका छन्ः ‘गत मंसिरमा विवेकशील र साझा पार्टीको एकीकरण हुँदै गर्दा तपाईँहरूले ‘गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिता’मा अर्को पक्षको विश्वास गर्न सकिँदैन भन्नुभएको थियो,’ ‘त्यहाँ तपाईंहरू सही साबित हुनुभयो ।’
निर्वाचन आयोगले आइतबार अजिता राई पक्षको नेपाल विवकेशील पार्टी दर्ता भएको प्रमाण पत्र दिएको छ । त्यससँगै प्रतिक्रियादिँदै पाण्डेले भनेका छन्, ‘तपाईंहरूलाई पार्टी दर्ताका निम्ति धेरै–धेरै बधाई छ । तपाईंहरूले सुसंस्कृत राजनीति, वैकल्पिक राजनीति र विवेकशील आन्दोलनलाई न्याय गर्नुहुनेछ र नेतृत्व गर्नुहुनेछ भन्ने विश्वास छ ।’
विवकेशील र साझा पार्टीबीच एकीकरण हुँदा तत्कालीन उपाध्यक्षसहित १३ जना एकीकरण प्रक्रियामा सहभागी नहुने भन्दै तटस्थ बसेका थिए । साझा पार्टीका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रको राजनीतिक एजेण्डामा स्पष्ट छलफल नभइ एकीकरण गर्नु नहुने उनीहरुको धारणा छ । विवेकशीलका पूर्वसंयोजक उज्जवल थापाले पनि तत्काल साझा पार्टीसँग एकीकरण गर्नु नहुने अडान राखेका थिए ।
तर पार्टीमा बहुमत सदस्यले एकीकरण गर्ने निर्णय गरेका थिए । उनले अगाडी लेखेका छन्ः हामी सुसंस्कृत विवेकशील राजनीति गर्दै थियौँ । यसरी लप्पनछप्पन गर्ने कुरा सोच्न सक्ने कुरा भएन । आखिर राजनीति विश्वास न हो । हामीले विश्वास गर्यौँ । त्यसैले, हामीले लेखेको र भएको सहमतिलाई मान्यौँ । आज दुखको कुरा के भयो भने सुसंस्कृत राजनीतिमा अर्को पक्षले लेखेकै र भएकै सहमति मान्नु मेरो गल्ती भयो भन्नुपरेको छ । आज वैकल्पिक राजनीतिमा लप्पनछप्पन नजान्दा यो परिस्थिति आएको हो ।





