८ मंसिर, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको बजेट समस्याग्रस्त रहेको बताएका छन् । आज काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उनले बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताएका हुन् ।
राजस्वले चालु खर्च पनि धान्न मुस्किल रहेको भन्दै मुलुकको बजेट प्रणाली समस्याग्रस्त रहेको अर्थमन्त्री शर्माले बताएका छन् । उनले कोभिड–१९ पछिको आर्थिक पुनरूत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत उपलब्ध हुन नसकेको तर सरकारको प्रयास जारी रहेको बताएका छन् ।
राष्ट्र निर्माण र आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रशंसायोग्य भएको उनको भनाइ थियो । नेपालको आर्थिक विकासका लागि स्रोत–साधन पर्याप्त भए पनि उपयोग गर्ने क्षमताको अभाव भएको अर्थमन्त्री शर्माले् बताएका छन् ।





