समाचार

राप्रपा महाधिवेशनः लिङदेनद्वारा अध्यक्षमा उम्मेदवारीको घोषणा, राणा महामन्त्रीमा

९ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता राजेन्द्र लिङदेनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । राप्रपाको आगामी महाधिवेशनमा पार्टी नेतृत्वलाई चुनौति दिनेगरि लिङदेनले अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका हुन् ।

आज काठमाडौंमा एक कार्यक्रममा बीच राप्रपाका तर्फबाट एक मात्र प्रतिनिधिसभा सदस्य झापाका लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । लिङ्देनलाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा, अभिनेत्री रेखा थापालगायतका नेताहरूको साथ रहेको छ । यसअघि आज राणाले पनि महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेको बताइएको थियो ।

पार्टी स्थापनाकालदेखि नै नेतृत्व तहमा रहँदै आएका शीर्ष नेताहरूले आसन्न महाधिवेशनमा पनि अरूलाई अवसर नदिने संकेत गरेपछि लिङ्देन र राणाको समूह अघि सरेको हो । अहिले राप्रपामा पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी पनि अध्यक्ष छन । तीनै जना यस पटक पनि अध्यक्षका दाबेदार रहेका छन् ।