स्वास्थ्य

ओमिक्रोनको त्रासः स्वास्थ्य मन्त्रालय भन्छ, अत्यावस्यक नपरि देश नछाड्नु

१५ मंसिर, काठमाडौं । सरकारले कोरोनाको नयाँ भेरियन्ट ’ओमिक्रोन’को जोखिम बढेको भन्दै विदेश यात्रा नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को ओमिक्रोन भेरिएन्टको संक्रमणलाई ध्यानमा राख्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अपिल गरेको हो ।

केही दिनअघि मात्र अफ्रिकी मुलुकमा पहिचान गरिएको ओमिक्रोन भेरिएन्ट (सार्स कोभ–२ भेरियएन्ट ओमिक्रोन) (बी.१.१.५२९) विश्वका अन्य मुलुकमा पनि तीव्ररुपमा फैलिरहेको छ । विश्व स्वास्थ्य संगठनले यो भेरिएण्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरिसकेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले हालसम्म सो भेरियन्ट नेपालमा फेला परिनसकेको र आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको बताएका छन् ।

यो भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूमा असर पार्ने बताइएको छ । त्यसैले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन भूमिका बढाउन सबैको जानकारीका लागि अनुरोध गरिएको मन्त्रालयले जनाएको छ ।