२१ मंसिर, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै बिगत डेढ महिनादेखी आन्दोलित वकिलहरुको बालकोट पुगेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उक्त टोली आज बालकोट पुगेको हो । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले ओलीलाई भेटेर प्रधानन्यायाधीशको राजीनामाबारे छलफल गर्ने जानकारी दिएका छन् ।
गत कात्तिक पहिलो सातादेखि आन्दोलित वकिलहरुको टोली सर्वोच्चमा देखिएको जटिलता र जबराको राजीनामासहितका विषयमा कुरा गर्न प्रमुख प्रतिपक्षी दलका नेताको निवासमा पुगेको हो । एमाले अध्यक्ष ओलीले उनीहरुलाई मध्यान्ह साढे १२ बजेको समय दिएर बालकोट बोलाएका थिए । त्यही अनुसार बालकोट पुगेका उनीहरुले ओलीलाई अहिले पौने १ बजे भेटेका छन् ।
साथै अहिले भेटवार्ता जारी रहेको छ । ओलीलाई भेट्न जेष्ठ वकिल कृष्णप्रसाद भण्डारी, बारका पूर्वअध्यक्ष शभ्मु थापा, वर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य पनि बालकोट पुगेका छन् । सर्बाेच्च अदालतमा बिरोध प्रदर्शन गरेर उनिहरु ओलीलाई भेट्न गएका हुन् ।





