काठमाडौँ, २१ मङ्सिर । सडकमा कालोपत्र गरिएकोे केही महिनामै भत्किएको चापागाउँ–लेले सडकका विभिन्न खण्ड पुनः निर्माण गरिने भएको छ । सुनाकोठीको आठ सय मिटर खण्ड र अरु खण्डमा पनि नयाँ हुने गरी मर्मत गर्न लागिएको हो ।
चापागाउँ सडकमा अहिले भइरहेको संरचनामध्ये ‘बेस’ मात्रै काम लाग्ने देखिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । त्योभन्दा माथि नयाँ मसला हालेर सुरुदेखि नयाँ कामका रुपमा गरिने आयोजनाका प्रमुख दीपेन्द्र पाण्डेले बताएका छन् । उनका अनुसार जहाँ जहाँका सडक भत्किएको छ त्यहाँ नयाँ नै देखिनेगरी निर्माण गरिने छ । प्रमुख पाण्डेले भने, “केही भागमा थोरै उप्केकामा मर्मत गरे पनि ठूलो क्षति पुगेको ठाउँमा भने पुनःनिर्माण नै गर्नुपर्छ ।”
आयोजनाले यो महिनाको अन्तिमसम्ममा उक्त सडक निर्माण गरिसक्ने लक्ष्य लिएको छ । आगामी चैतसम्म निर्माणको अवधि भए पनि त्योभन्दा पहिले नै सम्पन्न गरिने उनले बताएका छन् । प्रमुख पाण्डेले भने, “सम्भव भएसम्म यही महिना भित्रै सकाइने छ ।” कालोपत्र गरेको छ महिना नपुग्दै चापागाउँ–सुनाकोठी सडकमा खाल्डैखाल्डा भएको थियो । अहिले सडकमा खाल्डो र धुलोका कारण हिँड्नै कठिन भएको छ । सडक निर्माणका लागि ठेक्का सम्झौता भएको पाँच वर्षमा कालोपत्र भएकामा केही महिनामा सडक पुनः पहिलेकै अवस्थामा पुगेको थियो ।
सुनाकोठीमा सडक हिलाम्मे हुँदा मोटरसाइकलमा सवार आफू दुर्घटनामा परेको लेलेका सुनिल थापाले बताएका छन् । हिलाम्मे सडकमा जाम हुँदा आफू यो वर्ष दुई पटक चिप्लिएर लडेको उनको भनाइ थियो । आफूलाई ठूलो चोट नलागे पनि सँगै रहेकी छोरीलाई हातमा चोट लागेकाले उपचार गराउनु परेको यात्रु थापाले गुनासो गरे । वर्षाले खाल्डो पूरै भरिँदा कहाँ खाल्डो छ र कहाँ छैन भन्ने थाहै हुँदैन । उनले भने, “समथरै होला भनेर लैजाँदा लड्ने सम्भावना रहन्छ ।”
कूल २० मिटर सडक चौडा गर्ने गरी आयोजनाले पाँच वर्ष पहिले ठेक्का सम्झौता गरेकामा सडक विस्तार गर्न नसकिएपछि उपलब्ध पाँच÷छ मिटर चौडाइमै कालोपत्र गरिएको थियो । सडकको चौडाइ कम भएर नाली नबनाइएकाले पानी जम्दा कालोपत्र चाँडै उप्केको आयोजनाले जनाएको छ । सडकमा भएको ३०\४० वर्ष पुराना पाइप फुटेर पानी जमेकाले पनि कालोपत्र उप्काएको थियो ।
पानीले माथिल्लो भाग र सवबेस (ग्राभेल) दुवै तहलाई भिजाएकाले चाँडो कालोपत्र उप्केको बताइएकोे छ । टाखेलदेखि सुनाकोठीसम्मको सडक गत वर्षामा जुन अवस्थामा थियो यो वर्षको वर्षा याममा पनि त्यही अवस्थामा पुगेको छ । सडक बिग्रिएपछि निर्माण व्यवसायीसँग पत्राचार गरिएको आयोजनाले जनाएको छ । अहिले निर्माण कम्पनीले निर्माण सामग्री र उपकरण लगेर तयारी गरिसकेको देख्न सकिन्छ ।
साँघुरो सडक र वरपर पुराना घर भएकाले सडक निर्माण गर्दा रोलिङ (ग्राभेल थिच्न प्रयोग गरिने हेभी उपकरण) प्रयोग गर्न नसकिएको आयोजनाले जनाएको छ । ग्राभेल र त्योभन्दा तल्लो तहलाई रोलिङ गर्नुपर्ने भए पनि त्यो नगरिकनै कालोपत्र गरिएकोे थियो ।
स्थानीयवासीले रोलिङ गर्दा कम्पनले पुरानो घरलाई कमजोर बनाएर घर भत्किन्छ भन्दै रोलिङ गर्न दिएका थिएनन् । ग्राभेल खँदिलो ९कम्प्याक्ट० हुन नपाएपछि प्वाल प्वालबाट पानी छिरेको सडक विभागका इञ्जिनीयरले बताउँदै आएका छन् ।
निर्माण व्यवसायी आफैँले सडक मर्मत गर्दा सरकारी खर्च नबढ्ने र निर्माण सम्पन्न भएको एक वर्षसम्म निर्माण कम्पनीले त्रुटि सच्याउनु पर्ने अवधि हुन्छ ।त्यसैले निर्माण अवधिमै सडक भत्किएकाले त्यसको जिम्मेवारी व्यवसायीको भएको आयोजनाले जनाएको छ । सडकका ठाउँठाउँमा खाल्डैखाल्डा हुँदा यात्रुले कष्टकर यात्रा गर्न बाध्य भएका छन् ।
ढोलाहिटीबाट चापागाउँसम्मको सडकमध्ये खुमलटारबाट ढोलाहिटीसम्म सडक केही फराकिलो बनाइए पनि अन्यत्र भने साँघुरै सडकमा कालोपत्र गरिएको थियो । चापागाउँ, ठेचो, सुनाकोठीलगायत स्थानमा सडक साँघुरा छन् । यी ठाउँहरुमा ठूला सवारीसाधन आउँदा घण्टौँसम्म पनि सडक जाम हुने गरेको छ । खासगरी कार्यालय समयमा लामो समय सडक ठप्प हुँदा स्थानीयवासी हैरान हुँदै आएका छन् ।
झण्डै नौ किमी लम्बाइको सडक निर्माणका लागि तीन प्याकेजमा ठेक्का सम्झौता भएकामा एउटा प्याकेजमा आव २०७३ मा र अरू दुई प्याकेजमा आव २०७४\७५ मा ठेक्का सम्झौता गरिएको थियो । ठेक्काको अवधि सकिएको भएपनि निर्माणस्थल खाली नगरिएकाले अवधि थप हुँदै आएको छ । गत आवमा कोभिडको सङ्क्रमणका कारण अवरोध पुगेका सडकमा छ महिना थप्न गर्न सरकारले निर्णय नै गरेको थियो । चालु आवमा पनि सरकारले छ महिना थप्ने निर्णय गरिसकेको छ ।
सरकारले पाँच वर्ष पहिले नै काठमाडौँ उपत्यकाका तीनै जिल्लाका गरी १० स्थानका सडक विस्तार सुरु गरेको थियो । आयोजनाले ५३ किमी सडक विस्तारको काम अघि बढाउन विभिन्न खण्डमा ठेक्का सम्झौता गरेको थियो ।
त्रिपुरेश्वर-कलङ्की–नागढुङ्गा १२ दशमलव ४८ किमी, चाबहिल-जोरपाटी-साँखु १२ किमी, जोरपाटी-सुन्दरीजल सात किमी, लगनखेल-सातदोबाटो ८०० मिटर, इमाडोल-सिद्धिपुर-गोदावरी खोला तीन किमी, कर्मनासा-हरिसिद्धि चार किमी, ढोलाहिटी-सुनाकोठी-चापागाउँ सात किमी, नख्खु-भैँसेपाटी-बुङ्मती साढे तीन किमी सडक विस्तारका क्रममा छन् । तीमध्ये अहिलेसम्म नागढुङ्गा-त्रिपुरेश्वर सडक मात्रै सम्पन्न भएको छ ।





