समाचार

निधिको प्रस्तावः पौडेललाई सर्वसम्मत स्वीकार्ने भए म पनि दाबी छोड्छु

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी बिमलेन्द्र निधिले एक प्रस्ताव अघि सारेका छन् । आज काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापतिमा दाबी गर्दै आएका निधिले रामचन्द्र पौडेललाई सर्वसम्मत स्वीकार्ने भए आफुले दाबी छाड्ने बताएका छन् ।

उनले पौडेललाई सभापति स्वीकार गर्न सभापतिका आकांक्षी प्रकाशमान सिहं र शेखर कोइराला तयार भए आफूले पनि सर्मथन गर्ने बताएका हुन् । निधिले रामचन्द्रका लागि मैदान खाली गर्ने बताउँदै अरु उम्मेदवार कायम रहे आफ्नो पनि उम्मेदवारी कायम रहने समेत बताएका छन् । निधिले असन्तुष्टि छाडेर बैठक र कार्यक्रमहरूमा उपस्थित हुन पौडेललाई आग्रह समेत गरेका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले नै वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति प्रस्ताव गरे आफूलाई पनि स्वीकार्य हुने समेत बताएका छन् ।

यसअघि शेखर कोइरालाले पनि पौडेललको नाममा सहमति भए आफू पछि हट्ने घोषणा गरेका थिए । कांग्रेस महाधिवेशनको उद्घानसत्र आज दिउँसो १ बजेबाट हुँदैछ । आजसम्म संस्थापन पक्ष र संस्थापनइतर पक्षले प्यानल घोषणा गर्न सकेका छैनन् । आकांक्षी बढि देखिएकाले दुवै पक्षलाई सर्वसम्मत पदाधिकारी घोषणा गर्न सकस भएको हो ।