२४ मंसिर, काठमाडौं । नेकपा एमाले विभाजनपछि पहिलो पटक एउटै मञ्चमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल देखिएका छन् । काठमाडौंमा आज शुरु भएको कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन उनीहरु एउटै मञ्चमा उपस्थित भएका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेयता उनीसँग दाहाल र माधव नेपालको राम्रो सम्बन्ध रहेको छैन भने पछि सर्वोच्चको आदेशको बलमा एमाले र माओवादी ब्यूँतिएको थियो । यता माधव नेपालले एमाले नै विभाजन गरेका थिए । राजनीतिक तिक्तताका बीच तीन नेता आज एकै मञ्चमा देखिएका हुन् । ओलीले दाहालसंग एक वर्षपछि र नेपालसँग पाँच महिनापछि मञ्च सेयर गरेका हुन् ।
सुरुमै दाहाल र नेपाल महाधिवेशन स्थल भृकुटीमण्डपमा पुगेका भए पनि ओली ढिलोगरी पुगेका हुन् । गत १० मंसिरमा भएको एमालेको १०औँ महाधिवेशनमा नेता नेपाल र उनको पार्टीलाई निमन्त्रण गरिएको थिएन । निमन्त्रण गरिएको माओवादी केन्द्रबाट प्रचण्ड आफू नगएर लिलामणि पोखरेललाई पठाएका थिए ।
एमाले महाधिवेशनमा नगएका दाहाल र नेपाल कांग्रेस महाधिवेशनमा सहभागी हुने क्रममा ओलीसँग आमने सामने भएका हुन् । एमाले विभाजन भएर नेकपा (एस) गत ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको थियो । एमाले विभाजनपछि ओली, नेपाल र दाहाल पहिलोपटक आज कांग्रेस महाधिवेशन उद्घाटन सत्रमा एउटै मञ्चमा देखिएका हुन् । कांग्रेस बाग्मती प्रदेश सभापति इन्द्र बाँनियाले स्वागत गरेका ओली देउवा र रामचन्द्र पौडेलको बीचमा बसेका छन् ।





