२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको उम्मेदवारीबाट पछि हटेका छन् । उनले आज बिहान बोहराटारमा भएको छलफलमा १४ औं महाधिवेशनमा उम्मदवारी नदिने बताएका हुन् ।
आफ्नो पक्षबाट सभापतिमा एक जना मात्रै उम्मेदवार उभ्याउन नसकेपछि पौडेल पछि हटेका छन् । उनका लागि शेखर कोइराला र शशांक कोइराला दाबी छाड्न तयार भए पनि प्रकाशमान सिंह तयार नभएपछि पौडेल पछि हटेका छन् । उनले आफ्नोपक्षबाट आफूलाई एकल उम्मेदवार बनाइए मात्रै अघि बढ्ने तयारी गरेका थिए ।
साथै उनले शुक्रबारकै उद्घाटन समारोहमा पनि सहभागिता नजनाउने तयारी गरेका थिए । तर नेताहरुको अनुरोधपछि उनी सहभागी भने भएका थिए । आज बिहानको छलफलमा उनले आफूले राजनीतिबाट सन्यास पनि नलिने र उम्मेदवार पनि नहुने प्रस्ट पारेका हुन् ।
वरिष्ठ नेता पौडेलले अहिले सभापतिमा शेरबहादुर देउवाको विकल्प चाहिएको भन्दै त्यसका लागि सबै त्याग गर्न तयार हुनुपर्ने बताएका छन् । उनले अब आफू सभापतिको दौडमा नरहेको बताए ।





