२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा कल्याण गुरुङले उम्मेद्वारी दिएका छन् । आज बिहान ११ बजे गुरुङले उम्मेद्वारी दर्ता गरेको निर्वाचन समिति सदस्य सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिएका छन् । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका गुरुङले यस अगाडि नै सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आ–आफ्ना उम्मेदवार तय गर्न छलफलमा जुटेका छन् । तर सहमति हुन नसक्दा हालसम्म प्यानल घोषणा हुन सकेको छैन ।
संस्थापनइतर पक्षले सभापतिकै उम्मेदवार तय गर्न सकेको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको इतर समूह निरन्तर छलफलमा छन् । सो समूहबाट नेता पौडेल र महामन्त्री डा. शशांक कोइरालाले सहमति जुटे सभापतिको उम्मेदवारबाट आफूहरू लचिलो बन्ने संकेत गरेका छन् । तर, नेता प्रकाशमान सिंह र शेखर कोइरालाका बीचमा सहमति जुट्न सकेको छैन । यस्तै सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् ।





