२९ मंसिर, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहालले सेयरबजार ध्वस्त बनाउनेगरी दिएको अभिव्यक्तिको कटाक्ष गरेका छन् । दाहालले यस्तो अभिव्यक्ति दिँदा पनि कोही नबोलेको भन्दै ओलीले आपत्ति जनाएका छन् ।
अध्यक्ष ओलीले ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा आज आयोजित पार्टीका मनोनित केन्द्रित सदस्यको शपथग्रहण कार्यक्रममा बोल्दै सेयरवालाले चन्दा नदिएपछि उनीहरूलाई ध्वस्त बनाउने गरी प्रचण्डले सो अभिव्यक्ति दिएको गम्भीर आरोप लगाएका छन् । शेयर लगानीकर्ता र सामान्य जनताको लगानी जे सुकै होस् तर देशलाई बर्बाद पार्ने काममा दाहालहरु लगातार लागि रहँदा पनि कसैले विरोध समेत नगरेको उनले बताए ।
‘पूँजीवाद विकसित रूप भएर साम्राज्यवाद हुन्छ लेनिनले भनेका थिए । त्योभन्दा माथि गएर साम्राज्यवाद विकसित भयो भने सेयरबजार हुन्छ भनेर प्रचण्डले नयाँ थेसिस ठोक दिए । दुई दिनमा शेयर बजार धरासायी । त्यसले जनताको जीवनमा कति असर हुन्छ, शेयर लगानीकर्ताको अवस्था कस्तो हुन्छ ? तिनीहरूको आर्थिक स्थिति के हुन्छ ? केही पनि मतलव छैन । अर्थतन्त्रको केही पनि मतलव छैन ओलीले भने ।
कुन सेयरवालाले चन्दा दिएनन् होला, त्यही भएर उनले त्यसलाई ध्वस्त बनाउने त्यसो भने । न रहे बास, न बजे बाँसुरी भनेर बजाए’ उनले भने । उनले आफूहरूले त्यस्तो अभिव्यक्ति दिएको भए सडक तात्ने बताए । उनले प्रचण्डको यस्तो अभिव्यक्तिबाट सबैजना चुप बसेको भन्दै असन्तुष्टि जनाए । अध्यक्ष ओलीले पार्टीका नेताहरुलाई सही विचार, व्यवहार र कार्यशैली अवलम्बन गर्दै देश र जनताको सेवामा समर्पित भएर लाग्न सचेत गराए ।





