आर्थिक

प्राइम कमर्सियल बैंकको १४ औं वार्षिक साधारणसभा सम्पन्न

७ पुस, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७७.७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६% का दरले हुने रु. २५७.३२ करोड बराबरको बोनस सेयर तथा चुक्ता पुँजीको ०.६३१३ प्रतिशत नगद लाभांश (कर समायोजनार्थसमेत) दिने निर्णय गरेको छ ।

मंगलबार सम्पन्न साधारण सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद –१ मा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । बिष्ट यस अघि पनि बैंकको सञ्चालक थिए ।

साधारणसभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने शेयरधनीहरु लगायत सम्बन्धित सबैमा कृतज्ञता व्यक्त गर्दै साधारणसभामा अध्यक्ष श्रेष्ठले बैकले विगतमा झैं आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै लगी आफ्ना शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।