७ पुस, काठमाडौं । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का बोर्ड सदस्यले राष्ट्रिय खेलाडीमाथि नियोजित ढंगले गरेको कारबाही फिर्ता लिन आग्रह गरेका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बोर्डका सदस्यहरू, ऋषिराम गौतम, अमितवीर पाण्डे, करन महतारा, मोहम्मद दाउद अन्सारी, सञ्जय राज सिंह र छुम्बी लामाले संयुक्त रूपम पत्रकार सम्मेलन गर्दै हचुवाका भरमा गरिएको खेलाडीमाथिको कारबाही तत्काल फिर्ता लिन आग्रह गरेका हुन् ।
आफ्नो मेहनत, परिश्रम र टिम भावनाका साथ नेपाललाई एक दिवसीय मान्यता दिलाउन महत्वपूर्ण योगदान गरेका क्रिकेट खेलाडीलाई सम्मानको बदला अनुशासनको नाममा नियोजित कारबाही गरेएको भन्दै उनिहरुले घोर भत्सना समेत गरेका छन् ।
पत्रकार सम्मेलनपछि विज्ञप्ति जारी गर्दै उनीहरूले अनुशासन समिति भए पनि सो समितिलाई काम गर्न नदिएको आरोप लगाउँदै परामर्समै खेलाडीको बर्गिकरण गर्नुपर्ने आफूहरूले आवाज उठाए पनि एकलौटी ढंगले निर्णय गरेको जिकिर गरेका छन् । खेलाडीहरुले वर्गीकरणमा असहमति जनाएपछि उनीहरुसँग संवाद गरेर विवाद सल्टाउनुपर्नेमा झन् निहुँ खोजेर कारबाही गरिएको क्यान सदस्यहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
वर्षौंसम्म राष्ट्रिय टिममा रहेका खेलाडीहरुलाई हचुवाको भरमा नियोजित तरिकाले कारबाही गर्दा आउँदा दिनमा हुने महत्वपूर्ण प्रतियोगितामा पर्ने असरका साथै नेपाली क्रिकेटको साख खस्कने अवस्था आउन सक्ने तर्फ जिम्मेवार नेतृत्वले सोचेको छ ? उनीहरुले प्रश्न गरेका छन् ।
छानविन प्रतिवेदन बोर्ड सदस्य आफुहरुलाई जानकारी नगराउनु र आफुहरुको असहमतीका बाबजुत खेलाडीहरुको भविस्यमाथि खेलवाड हुनेगरि कारबाही गरिनुले नेपाली क्रिकेटलाई कहाँ पुर्याउन खोजिएको भन्ने प्रश्न उठेको समेत उनिहरुले जारी गरेको विज्ञप्तिामा उल्लेख छ ।






