११ पुस, काठमाडौं । नेपालमा थप २१९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । गत २४ घण्टामा आरटी-पीसीआर र एन्टिजेन गरी ९ हजार ६७७ नमूनाको परीक्षण गर्दा आइतबार थप २१९ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार १८० जनाको पीसीआर र २ हजार ४९७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट २१३ र एन्टिजेन परीक्षणबाट ६ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । यससँगै हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८५ पुगेको छ ।
गत २४ घण्टामा २८३ जना कोरोना भाइरसको संक्रमणबाट निको (संक्रमण मुक्त) भएका मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार हाल देशभर ४ हजार ९०६ जना सक्रिय संक्रमित रहेका छन् ।





